Thursday, December 2, 2010

अब मोबाइल हराए समस्या छैन


काठमाडौ, मंसिर १६ - प्रयोगकर्ताको उच्च वृद्धिसँगै मोबाइल चोरीका घटना पनि बढेका छन् । मोबाइल चोरी निरुत्साहित गर्न सरकारले हराएको सेट काम नलाग्ने बनाउने प्रविधि भित्र्याउने भएको छ । नियामक निकाय दूरसञ्चार प्राधिकरणले छ महिनामा इक्विपमेन्ट आइडेन्टिटी रजिस्टर (इआइआर) प्रणाली लागू गर्ने तयारी सुरु गरेको हो । यसका लागि सबै दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई इआइआर प्रणाली जडान गर्न छिट्टै निर्देशन दिने तयारी उसको छ । यस प्रणालीले सिम हाल्ने बित्तिकै मोबाइलको नम्बर पहिचान गर्ने र हराएको नम्बरको आधारमा कम्पनीको नेटवर्कमा मोबाइलले काम गर्न नसक्ने बनाउने व्यवस्था हुन्छ । आपराधिक क्रियाकलाप, कल बाइपास र मोबाइल सेट चोरीका घटना बढेपछि तीन महिनाअघि प्रधानमन्त्रीको कार्यालयबाट इआइआर प्रणाली लागू गर्न भनिएको थियो । त्यही निर्देशनअनुरूप प्राधिकरणले काम सुरु गरेको हो ।'इआइआर सेवा सुरु गर्न दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले उपकरण ल्याएर जडान गर्नुपर्छ,' प्राधिकरणका उपनिर्देशक कवीन्द्र श्रेष्ठले भने, 'यो प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले भित्र्याउने निर्णय भएको ६ महिनामा सबैले सेवा सुरु गर्नुपर्ने व्यवस्था गर्न लागेका छौं ।'उनका अनुसार इआइआर भनेको यस्तो सफ्टवेयर हो जसले प्रत्येक मोबाइलको इक्विपमेन्ट आइडेन्टिटी -आइएमइआई) पहिचान गरेर सुरक्ष्ाित राख्छ । आइएमइआई नम्बर सबै मोबाइलको भिन्दाभिन्दै हुन्छ । 'सफ्टवेयरले आइएमइआई नम्बर पहिचान गर्छ,' उनले भने, 'यदि मोबाइल हराएर त्यसमा अर्को सिम हाल्ने बित्तिकै हराएको सिमको आइएमइआई नम्बर इआइआर सफ्टवेयरले पहिचान गर्छ ।' यदि त्यो आइएमइआई नम्बरको मोबाइल हराएको उजुरी भए त्यो काम नगर्ने बनाउन सकिन्छ । यस्तै प्राधिकरणबाट टाइप एप्रुभल नलिएको मोबाइल समेत प्रयोग गर्न नमिल्ने इआइआर सफ्टवेयरले बनाउन सक्छ ।

0 comments:

Post a Comment