Monday, November 29, 2010

नेपालमा चाडै स्थिरता कायम होस् :चीन

चीनका एक वरिष्ठ अधिकारीले आफ्नो मुलुकले नेपालको राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक सद्भाव चाडै सार्थक हुने आशा गरेको बताउनुभएको छ ।केन्द्रीय सचिवालयका सचिव युवराज ज्ञवालीको नेतृत्वमा चीन भ्रमणमा रहेको नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रतिनिधिमण्डलसँगको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य ह योङले आज यहाँ उक्त कुरा बताउनुभएको हो ।चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय अनुशासन आयोगका सहसचिवसमेत रहनुभएका हले दुबै देशबीचको सम्बन्ध र दुबै पार्टीबीचको आदानप्रदानको उच्च मुल्यांकन गर्दै तिब्बतको मामिलामा चीन सरकारको समर्थन गरेकामा नेपाललाई धन्यवाद दिनुभयो । नेपालसँगको परम्परागत सम्बन्धलाई अझ दरिलो बनाउने चीनको आशा रहेको उल्लेख गर्दै उहाँले आपसी सहयोग र साझेदारीपूर्ण सम्बन्ध विकसित गर्न चीन नेपालसँग मिलेर काम गर्न चाहेको कुरामा जोड दिनुभयो । उहाँले नेपाली प्रतिनिधिमण्डललाई चीनको राजनीतिक अवस्था, आर्थिक विकास र चिनियाँ कम्युनिस्ट पार्टीको सत्रौं केन्द्रीय समितिको पाँचौ विस्तारित बैठकका बारेमा जानकारी दिनुभएको थियो ।
सो अवसरमा सचिव ज्ञवालीले चीनले नेपाललाई निःस्वार्थरुपमा गरिरहेको दीर्घकालीन सहयोगका लागि धन्यावाद दिदैँ दुबै पार्टीबीचको आदानप्रदानबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध र सहयोग निरन्तररुपमा विस्तार हुँदैजाने आशा ब्यक्त गर्नुभयो । उहाँले चीनले प्राप्त गरेको आर्थिक विकासको पनि उच्च प्रशंसा गर्नुभएको थियो ।

0 comments:

Post a Comment