Tuesday, November 30, 2010

प्रधानमन्त्रीको पुत्रीलाई दाइजोमा फूल


काठमाडौं । राजीनामा दिएको पाँच महिना पुग्न लाग्दासमेत मुलुकको नेतृत्व गर्ने सौभाग्य प्राप्त गरिरहेका प्रधानमन्त्री माधवकुमार नेपालले तामझामविहीन ढंगले आफ्नी छोरीको विवाह सम्पन्न गरेका छन्। altप्रधानमन्त्रीपुत्री डा. सुमन नेपालको विवाह एमाले नेता सोमप्रसाद पाण्डेका सुपुत्र डा. विशाल पाण्डेका साथ हुने तय भएपछि उक्त विवाह तामझाममय हुने पूर्वानुमान थियो। तर, प्रधानमन्त्री नेपालले आर्मी अफिसर्स क्लबबाट छोरीको विवाह सामान्य ढंगले गरेपछि 'स्कुप' समाचार बनाउने तयारी गरिरहेका धेरै पत्रकारसमेत जिल्ल परे। आइतबार सम्पन्न विवाहमा बेहुली सुमनलाई लिन बेहुला विशाल १० बजेर ५ मिनेट जाँदाको साइतमा संविधानसभाको दक्षिण अगाडिको घरबाट करिब २ सय जन्तीका साथ निस्केका थिए। पञ्चेबाजा बजाउँदै आर्मी क्लब पुगेको जन्तीलाई बेहुलीका पक्षबाट फूलका गुच्छाले स्वागत गरिएको थियो। सम्धी पक्ष पाण्डेलाई भने फूलको माला लगाइदिएपछि उपस्थितले मजाले ताली पिटेका थिए। प्रधानमन्त्री नेपालले आयोजना गरेको दिवाभोजको अवसरमा बरबधुलाई आशीर्वाद दिन राष्ट्रपति डा. रामवरण यादव, सभामुख सुवासचन्द्र नेम्वाङ, प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ, उपराष्ट्रपति परमानन्द झा जानुभएको थियो। त्यसरी नै पूर्वप्रधानमन्त्रीहरू कृष्णप्रसाद भट्टराई, लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहालले पनि बरबधुलाई आशीर्वाद र प्रधानमन्त्री नेपाललाई बधाई दिनुभएको थियो। एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस सभापति सुशील कोइराला, एमालेका प्रभावशाली नेता केपी शर्मा ओली, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका मुलुकका सबैजसो गन्यमान्य आइतबार आर्मी क्लबमा थिए। एमालेका वरिष्ठ नेताहरू वामदेव गौतम, अमृतकुमार बोहरा, भरतमोहन अधिकारी, अशोककुमार राई, मोदनाथ प्रश्रित, केशव बडाल, विष्णुप्रसाद पौडेल, वाचस्पति देवकोटाको पनि उपस्थिति रहेको थियो। मन्त्रीहरू भीम रावल, शंकर पोखरेल, प्रकाशशरण महत, जीतु गौतम तथा एमालेका युवा नेताहरू कृष्णगोपाल श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, खगराज अधिकारी, महमुद आलम, पूर्व गृहराज्यमन्त्री रिजमान अन्सारी, भानुभक्त ढकाल, सभासद् रविन्द्र अधिकारी, शेरबहादुर कुँवरलगायतको त्यहाँ उपस्थिति रहेको थियो।

0 comments:

Post a Comment