Monday, November 29, 2010

पोखरामा विमानस्थल बनाउन १३ अर्ब चाहिने


काठमाडौं, १२ मंसिर
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन करिब १३ अर्ब रुपैयाँ लाग्ने भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलको स्तरोन्नतिका लागि १२ अर्ब ७९ करोड ७ लाख ५० हजार (१७५ मिलियन डलर) रुपैयाँ खर्च लाग्ने अनुमान गरेका हुन् । मन्त्रालयका अनुसार यसका लागि ९५ मिलियन डलर (६ अर्ब ९४ करोड ३५ लाख ५० हजार रुपैयाँ) चीन सरकारको स्वामित्वमा रहेको एक्जिम बैंकले ऋण दिने भएको छ । नेपाल सरकारका उच्च अधिकारीसँगको सहमतिपश्चात् चीनले सहुलियतपूर्ण ऋण (सफ्ट लोन) प्रदान गर्ने सहमति जनाएको हो । त्रिशुली तेस्रो आयोजनाबाट बचत हुने ८० मिलियन डलर (५ अर्ब ८५ करोड रुपैयाँ) र अन्य खर्च एक्जिम (एक्सपोर्ट इम्पोर्ट) बैंकबाट प्रदान गरिने द्विपक्षीय सहमति भएको छ । विमानस्थल निर्माणका लागि अनुमानित अपुग रकमबारे अध्ययन गर्न अर्थमन्त्रालयले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको थियो । सोहीअनुरूप आफूहरूले ९५ मिलियन डलर (७० करोड २० लाख ५ हजार रुपैयाँ) अपुग हुने प्रतिवेदन अर्थलाई बुझाएको पर्यटनसचिव किशोर थापाले जानकारी दिए ।

0 comments:

Post a Comment