Friday, December 3, 2010

अमेरिकामा गैरकानुनी आप्रबासीलाई बैधानिकता दिने तयारी सुरु


वासिङटन । लाखौंको संख्यामा रहेका अबैध आप्रबासीहरुको बैधानिकता प्रकृयामा सहजीकरण ल्याउन अहिले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा एजेन्सी आवश्यक गृहकार्यमा जुटेको छ । ओबामा प्रशासनको बृहत आप्रबास सुधार ऐन पारित भएमा ठूलो संख्यामा ओइरो लाग्ने आवेदनलाई मध्यनजर गर्दै एजेन्सीले तयारी थालेको हो । आप्रबाससम्बन्धी मुद्दा हेर्ने तथा सोअनुरुप भिसा दिने काम एजेन्सीको मातहतमा रहेको छ । हाल अमेरिकामा १ करोड २० लाख अबैध आप्रबासी रहेको अनुमान गरिएको छ । केहि महिनाअघि ल्याइएको राष्ट्रपति बाराक ओबामाको महत्वकांक्षी आप्रबास सुधार ऐन अहिले परिक्षाको घडीमा रहेको छ । रिपब्लिकनहरुको विरोधको बाबजुत सिनेटबाट पारित भएमा उक्त कानुनअन्तर्गत निश्चित योग्यता पूरा गरेका आप्रबासीले स्थायीरुपमा अमेरिका बस्न पाउनेछन् । यद्यपी अबैध आप्रबासीहरुको वास्तविक संख्याबारे सरकारसँग कुनै आधिकारिक तथ्याङ्क भने छैन । १ करोड ८० लाख आप्रबासीहरुले बैधानिकताका लागि आवेदन दिन सक्ने प्युहिस्पानिक केन्द्र र आप्रबास अध्ययन केन्द्रले जनाएका छन् । एक वर्षमा ६० लाख आवेदन मात्र प्रोसेसिङ गर्ने एजेन्सीको क्षमता रहेको नवनियुक्त निर्देशक एलेजान्द्रो मेओर्कासले बताए । गत अगष्टमा पदोभार सम्हालेका मेओर्कासले एजेन्सीको प्रशासनिक क्षमतामा तत्काल सुधार ल्याइनु पर्नेमा जोड दिए । प्रोसेसिङका क्रममा आवेदकहरुले औठा छाप तथा बाओमेटि्रक परिचयका लागि आवश्यक सूचना दिने पर्ने भएकाले प्रकिया निकै जटिल रहेको उनले जनाए । निकट भविष्यमा हुने आबेदनको ओइरोलाई ब्यबस्थित गर्न आवश्यक कदम थालिएको उनको भनाइ छ । आवेदन संकलनका लागि स्थानिय कार्यालय भन्दा लकबक्सलाई प्रयोजनमा ल्याइने तयारी भैरहेको उनले थपे । आप्रबास कानुन पारित भएको केहि हप्तामै प्रोसेसिङ कार्य पूरा गर्नुपर्ने भएकोले एजेन्सी पूर्व कसरतमा जुटेको हो । आवेदन प्रकृयालाई अझै सरल बनाउन अनलाइन इमेल रेजिष्ट्रेसनको ब्यबस्थाबारे पनि गृहकार्य भैरहेको मेओर्कासले जनाए । एजेन्सीको कार्य दक्षतामा बृद्वि ल्याउन अधुरा कार्य जतिसक्दो चाडो कार्यान्वयन गरिने उनले बताए । यस विषयमा अमेरिकी जनताको सुझाब, सल्लाह तथा बिचार बुझ्न होमल्याण्ड सुरक्षा सचिबलगायत अन्य अधिकारीहरुले देशभर कार्यक्रम तथा बहस शुरु गरेका छन् ।

0 comments:

Post a Comment