Wednesday, December 8, 2010

नेपाली सिनेमा नचलाउन दिल्लीको दबाब


नेपालमा व्यवसाय गर्ने जोसुकै विदेशी होस्, उसले नेपाली लगानीलाई प्राथमिकता दिनुपर्दछ । तर, नेपालमा सिनेमा हलमा लगानी रहेको बिग सिनेमाजले चाहिँ नेपाली फिल्म आफ्नो हलमा नचलाउन नेपालमा दबाब दिएको छ । बिग सिनेमाज भारतीय कम्पनी रिलायन्सको लगानी रहेको कम्पनी हो । त्यसो त यो हललाई नेपालमा भित्रिन नदिन ठूलो लबिङ गरिएको थियो । तर, भारतीय दबाबका कारण यसलाई स्वीकृति दिनुपरेको थियो । खासगरी, माओवादी सरकारमा रहेका बेला अनुमतिका लागि पहल गरेको भएपनि माओवादी सरकारले नेपालमै मनोरञ्जनका प्रशस्त आधारहरू रहेकाले यसमा विदेशी लगानी आवश्यक नपरेको भन्दै स्वीकृति दिन मानेको थिएन । तर, माओवादी सरकार ढलेपछि एमाले सरकारले बिग सिनेमाजलाई सिनेमा हल सञ्चालनका लागि स्वीकृति दिएको थियो ।
केही अघिसम्म नेपाली फिल्म चलाउन समस्या नरहेको सो हलमा अहिले नयाँ फिल्म 'हाँसिदेऊ एक फेर' शुक्रबारबाट रिलिज गर्न अन्कनाएको मात्र नभई सबै तयारी भइसक्दा पनि दिल्लीबाट सीधै नेपाली सिनेमा आफ्नो हलमा नचलाउन पत्र पठाएको छ । "बुधबारसम्म प्रदर्शनको सम्पूर्ण तयारी भइसक्दा पनि शुक्रबार अचानक फिल्म नचल्ने भनी जानकारी दिए," चलचित्र निर्माता राजेश संगमिखाले भने, "यसबाट नेपाली सिनेमाप्रति भारतीयहरू कति अनुदार छन् भन्ने देखिन्छ ।"
नेपालमा चलिरहेका हलमा नेपाली फिल्म नचलाउने उर्दी दिएपनि सरकारले फिल्म चलाउन कुनै पनि किसिमको पहल गरेको छैन । "सरकार नै लाचार छ, यस्तो अवस्थामा हामीले के नै गर्न सक्छौँ ?," संखमिखाले भने ।
चलचित्र विकास बोर्डका प्रशासन प्रमुख अनुपम निरौलाले चाहिँ दिल्लीबाट त्यस्तो 'क्लिन पेपर' आउनुलाई 'सांस्कृतिक हस्तक्षेपको नमुना' भनेका छन् । बिग सिनेमाजले नेपालमा सिनेस्टार कम्पनीका नाममा नेपालबाट आफ्नो मल्टिप्लेक्स सञ्चालन गरिरहेको छ । यो सिनेमाघरले सरकारले वार्षिक ११ लाख चलचित्र विकास शुल्क बुझाउँदै आएको छ ।

0 comments:

Post a Comment