Tuesday, November 16, 2010

एनआरएन पोर्चुगलले अवसरको खोजी गर्ने


लिस्बन, नोभेम्बर १२ । गैर आवासीय नेपाली संघ (एन आर एन) राष्ट्रिय समन्वय परिषद पोर्चुगलको पोर्चुगलमा नेपालीहरुको वढ्दो वेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरुको खोजी गर्ने भएको छ ।
लिस्वनमा शुक्रबार सम्पन्न वैठकले स्वरोजगारीका सम्भाव्य क्षेत्रहरु वारे अध्ययन गरी रोजगारीका अवसरहरुको खोजी गर्ने निर्णय गरेको छ । एनआरएन राष्ट्रिय समन्वय परिषद पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय समन्वय परिषदको उक्त वैठकले हाल पोर्चुगलमा लगभग ५०० को संख्यामा नेपालीहरु रोजगार विहिन अवस्थामा रहेको सन्दर्भमा सहज रुपले रोजगारीको खोजी गर्न सहयोग पुर्याउन आगामी डिसेम्वर १ तारिख देखि आधारभूत पोर्चुगिस भाषा कक्षा संचालन गर्नुका साथै पोर्चुगल नेपाल मैत्री संघसंगको सहकार्य र मैत्री संघका पोर्चुगिस पदाधिकारीहरु समेतको सहयोगमा रोजगारी तथा स्वरोजगारका क्षेत्रहरु खोजी गर्ने निर्णय गर्दै पोर्चुगिस नागरिकहरु संगको सहकार्यमा अवधारणा पत्र तयार गर्न एनआरएन राष्ट्रिय समन्वय परिषद पोर्चुगलका उपाध्यक्ष भीम के सी कमललाई जिम्मेवारी प्रदान गरेको छ ।
सो वैठकले हालसम्म एनआरएनले संचालन गरेका ४ वटा पोर्चुगिस भाषा कक्षाका प्रशिक्षार्थीहरुको भाषा सिकाइ प्रति संतोष व्यक्त गर्दै प्रशिक्षकहरुलाई धन्यवाद व्यक्त गरेको छ । संघको सो वैठकले हालै उच्चस्तरीय राजनैतिक संयन्त्रको वैठकबाट गैर आवासिय नेपालीहरुलाई दोहोरो नागरिकताको संवैधानिक व्यवस्था गर्ने निर्णय भएकोमा सो निर्णयको हार्दिक स्वागत गरेको छ । साथै पोर्चुगिस भाषा कक्षा संचालन गर्ने विषयमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले एक सूचना जारी गर्दै आगामी डिसेम्बर १ तारिखबाट विहान ९.३० देखि ११ वजेसम्म एनआरएन कार्यालय रोसियोमा आधारभूत पोर्चुगिस भाषा कक्षा संचालन हुने भएकोले पोर्चुगिस भाषा जान्दै नजान्नेहरुले उक्त कक्षामा सहभागी हुन आफ्नो नाम, ठेगाना र सम्पर्क टेलिफोन नम्वर सहितको निवेदन आगामी नोभेम्वर २० देखि २५ तारिखसम्म एनआरएनको कार्यालयमा निबेदन दिन अनुरोध गरेको छ ।

0 comments:

Post a Comment