Monday, November 15, 2010

साउदी राजकुमार तलालको आकाशे दरबार




यतिबेला त्रिभुवन विमानस्थलमा विश्वका १९ औं धनी व्यवसायी तथा साउदीअरबका राजकुमार अल वालिड विन तलालका दुई भिमकाय विमान पार्किङ गरिएका छन् । ती विमानभित्रका सुविधा हामीले कल्पना गरेभन्दा पनि बढी सुविधाजनक छन् ।
यी विमानको भुइँ बाक्लो सिसाबाट बनाइएको छ, जहाँबाट भुइँ हेर्न सकिन्छ । जहाजमा कार पनि सँगै बोकेर लैजान सकिन्छ । हरेक जहाजमा तलालका कार्यालय, राजकीय सयन कक्ष, बोर्ड रुम र अनलाइन कारोबार गर्ने सुविधा पनि छन् ।
राजकुमार तलाल जसरी धनले समृद्ध छन्, उनको विलाशी जीवनशैलीले उनको व्यक्तित्वलाई अझै उच्च बनाएको छ । केही महिनाअघि उनले किनेर प्रयोगमा ल्याएको निजी जेट ‘ए ३८०’ लाई विश्वका अरू धनाड्य व्यक्तिले समेत ईष्र्या गर्ने प्रकारको बनाएका छन् ।तलालसँग चारवटा निजी हवाईजहाज छन्, जसमा एक से एक सुविधा छन् । ‘ए ३८०’, ‘बोइङ ७४७’, ‘एयरबस ३२१’ र ‘ह्वकर सिडिली १२५’ छन् । तीमध्ये ‘ए३८०’ लाई तलालले आकासे दरबार नामकरण गरेका छन् । यो हवाईजहाज विश्वको सबैभन्दा ठूलो यात्रुबाहक एयरक्र्याफ्ट पनि हो । जसलाई सन् २००९ मा विश्वको सबैभन्दा ठूलो निजी जेटको रूपमा गिनिज विश्व रेकर्डमा पनि समावेश गरिएको छ । ६ सय यात्रु बोक्न सक्ने क्षमताको यस जेटलाई उनले संसारका धनाड्य व्यक्तिको स्वप्न महलका रूपमा परिवर्तन गरेका छन् ।
आकासमा उड्ने यो जहाजभित्र पाँचतारे होटेलमा भन्दा पनि बढी सुविधा छन् । यात्रुवाहक जहाजलाई नै दुई तले बनाइको छ भने तलालले यसलाई तीन तले बनाएका छन् । संभवतः जहाजमा लिफ्ट प्रयोग भएको यो पहिलो जहाज हो ।
यसको तल्लो तलामा चारवटा सुविधाजनक स्वास्थ्य क्लब छन् जसमा टर्किस बाथलगायका सम्पूर्ण सुविधा छन् । जेटको तल्लो तलाको एकातिर उच्चस्तरीय सुविधाजनक गाडी राख्ने ठाउँ बनाइएको हुन्छ जुन गाडीहरू तलाल जहाँ जाँदा पनि सँगै लिएर जान्छन् । बाँकी भागमा विभिन्न प्रकारका आराम गर्ने स्थानहरू बनाइएको हुन्छ । जहाजको बाथरुमका भुइँ सिंगमरमरयुक्त छन् । यद्यपि जेटको तौल हलुको बनाउनु पर्ने भएकाले त्यो सिंगमरमरको मोटाइ भने दुई मिलिमिटर मात्र छ । आकासे दरबारको उपमा पाएको यस जेटको सम्पूर्ण भुइँ रातो कार्पेटले ढाकिएको छ । यहाँ पाहुनाहरूका लागि पर्याप्त कोठाको व्यवस्था गरिएको छ । तलालले आफ्ना इष्टमित्रहरूसहित आनन्दमय हवाई यात्रा गर्नका लागि सम्पूर्ण पूर्वाधारको विकास गरेका छन् । दोस्रो तला तलाले आफ्नो कार्यालय बनाएका छन् । एक देशबाट अर्को देशमा हवाईयात्रा गर्ने क्रममा उनले कार्यालयका रूपमा प्रयोग गर्ने तलामा हरेक प्रविधिको प्रयोग गरिएको छ । उनलाई जेटमा नै सम्पूर्ण स्टक कारोबार गर्ने सुविधा छ । विश्वका धेरै बहुराष्ट्रिय कम्पनीमा लगानी गरेका उनले यात्रा गरिरहेको समयमा पनि कारोबार गर्न सक्छन् । बोर्ड रुममा भएको आइटचक्रिनमा सम्पूर्ण स्टक कारोबारको बारेमा सूचना प्रत्यक्ष रूपमा आइरहेको हुन्छ । जसले उनलाई केवल उक्त सूचनाको आधारमा जमिनमा रहेका अन्य व्यापारिक साझेदारहरूसँग सजिलै बैठक एवं छलफल तथा कारोबार गर्न सक्छन् । तेस्रो तलामा तलालका लागि राजकीय सयन कक्ष, पर्याप्त मनोरन्जन प्रणाली र कम्प्युटर प्रविधियुक्त प्रार्थना सुकुल छ । जुन सुकुलको शिर जेट संसारको जुनसकै स्थानमा भए पनि जहिलेसुकै मक्कातर्फ नै फर्किएको हुन्छ ।
तीन तले जेटको सबै तला फरक–फरक स्वरूपले भरिएको हुन्छन् । जेटमा माथिल्लो तलामा निजी आवास, बीचको तलामा कन्सर्ट हल र भुइँतलामा कार पार्क गर्ने लगायतका सुविधा छन् ।
तलालको पछिल्लो निजी जेट ३२ करोड अमेरिकी डलरमा किनेका थिए । यस जेटमा तलालले थप सुविधा थप्न १७ करोड ९० लाख डलर अत्तिरिक्त खर्च गरेका थिए । त्यसको साथै ६ करोड डलर बराबरकोे विभिन्न बुट्टाहरूयुक्त सुनौलो पात पेन्टिङ गर्न पनि खर्च गरेका थिए ।

0 comments:

Post a Comment