Monday, November 22, 2010

अमेरिकी मुद्रास्फीति सन् १९५७ यताकै न्यून


अमेरिकामा खाद्यान्न र उर्जाक्षेत्रबाहेक अन्य पक्षको मूल्य बढ्दो क्रममा रहे पनि मूल्यवृद्धि दर एकदमै न्यून रहेको सरकारले जनाएको छ । यो मूल्य वृद्धिदर विगत सन् १९५७ यताकै इतिहासमा सबैभन्दा न्यून भएको अमेरिकी सरकारको दाबी छ ।
एक वर्षयता गत अक्टोबर महिनासम्म मुद्रास्फीतिको मुख्य मापकका रूपमा रहेको अमेरिकी उपभोक्ता मूल्य सूचकांक १.२ प्रतिशतले मात्र उच्च भएको श्रम तथ्यांक विभागले जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।
तर खाद्यान्न तथा ऊर्जाक्षेत्रको मूल्यमा आएको आशिंक उतारचढावले यो वर्ष वार्षिक आधारमा उपभोक्ता मूल्य सूचकांकमा ०.६ प्रतिशतले उच्च भएको देखिन्छ, जुन मूल्य वृद्धिदर सरकारले तथ्यांक संकलन गर्न थालेको मिति सन् १९५७ यताकै सबैभन्दा न्युन हो । मूल्य न्यून सीमित रहने वस्तुमा मुख्यतया नयाँ तथा प्रयोग गरिएका पुराना कार, कपडा, विलासी सामग्री तथा सुर्तीजन्य वस्तु रहेका छन् । यद्यपि उपभोक्ताहरूले आम्दानी अपेक्षाकृत हुन नसकेको कारणले गर्दा मूल्य उच्च भएको अनुभव गरिरहेको बताइएको छ ।आवास तथा स्वास्थ्य सामग्रीको मूल्य भने अन्य पक्षको तुलनामा उच्च नै रहेको छ । त्यसैगरी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा पनि गत अक्टोबरसम्मको तथ्यांक प्रतिवेदनअनुसार ९.५ प्रतिशतले उच्च भएको छ । उपभोक्ताहरूले सामग्री खरिद गरेको बिलको परिमाण उच्च हुँदै गएको संकेत गरे पनि मूल्यवृद्धिदर गत वर्षको तुलनामा १.४ प्रतिशतले मात्र उच्च भएको छ । गत सेप्टेम्बर महिनामा कपासको मूल्य बढे पनि बाह्य रूपमा मूल्य सूचकांक भने न्यून नै छ । उक्त महिनामा कपासको मूल्य विगत १ सय ४० वर्षयताकै उच्च भएको थियो ।
“व्यापार र उत्पादकले अहिले वस्तुको मूल्यमा खासै वृद्धि गरेका छैनन्,” बीएमओ पुँजी बजारका अधिकारी जेनिफर लीले भने । उनले उपभोक्ताहरूसँग अहिले पनि खर्च गर्न सक्ने पर्याप्त सामथ्र्य रहेको बताएका छन् ।
उनले १ प्रतिशतको मुद्रास्फीतिदरलाई सुस्त नै मान्ने गरिएको बताए । उनले आउँदाका दिनमा मुद्रास्फीतिभन्दा पनि अवमूल्यनको अवस्था बढ्ने दाबी पनि गरेका छन् । ९.६ प्रतिशतको हाराहारीमा रहेको बेरोजगारी तथा तलब कटौतीजस्ता समस्या हाल कायम मूल्यवृद्धिले उपभोक्ताहरूलाई समायोजन हुन सघाएको छ । यद्यपि अमेरिकी फेडरल रिजर्भले विस्तारै मुद्रास्फीति बढाउने जानकारी दिएको छ । रिजर्भले वार्षिक आधारमा मूल्यवृद्धिदर २ प्रतिशत हुनुपर्ने लक्ष्य लिएको छ । दुई साताअघिमात्र अमेरिकी केन्द्रिय बैंकले ब्याजदर न्यून नै रहने गरी अर्थतन्त्र उकास्नका लागि नयाँ राहत योजनाको घोषणा गरेको थियो, जसले गर्दा न्यून ब्याजदरको फाइदा उठाउँदै उपभोक्ताहरूले दैनिक खर्चमा वृद्धि गर्ने सम्भावना उच्च भएको छ । परिमाणात्मक रूपमा सुधार ल्याउने नामले चिनिएको उक्त राहत योजना केन्द्रीय बैकले घोषणा गरेपछि केही अर्थविद्हरू सो योजनाप्रति आपत्ति प्रकट गरेका थिए ।

0 comments:

Post a Comment