Tuesday, November 23, 2010

सुराकीबापत ५८ लाख

विराटनगर, मङ्सिर ७। विराटनगर भन्सार कार्यालयले अवैध कारोबार नियन्त्रण तथा सुराकीबापत यसवर्ष रु ५८ लाख वितरण गरेको छ। सो कार्यालयका अनुसार भन्सार नतिरी आयात–निर्यात हुने सामग्री पक्राउबापत गत आर्थिक वर्ष २०६६/०६७ मा सुरक्षा निकायअन्तर्गत शसस्त्र प्रहरी, राजस्व गस्ती टोली, जनपथ प्रहरी, भन्सार कर्मचारी र स्थानीय युवा तथा केही पत्रकारलाई उक्त रकम प्रदान गरिएको छ। विराटनगर भन्सारअन्तर्गत नौवटा छोटी भन्सार रहेको र त्यसमध्ये केही छोटी भन्सार खाली रहेको र खुला सिमानाका कारण भन्सार चोरी–पैठारी निकासी नियन्त्रणका लागि सुराकीबापत २० देखि ३० प्रतिशतसम्म पक्राउ गरिएको सामानबाट कमिसन दिने गरिएको छ। भन्सार कर्मचारी जाँचपास तथा भन्सार गेटमा बसी राजस्व मात्र लिने गरेको र नियन्त्रण गर्न नसकेकाले सुराकीबापत पक्राउ गरिएको सामानको मूल्याङ्कनबाट निश्चित रकम दिने गरिएको भन्सारको एक अधिकृतले बताएका छन्। विगतको तुलनामा भन्सार मुद्दा व्यापक फर्छ्योट भएको भए पनि पूर्णरूपमा चोरी तस्करी नियन्त्रण हुननसकेको भन्सार कर्मचारी बताउँछन्। उता प्लान्ट क्वारेनटाइन चेक पोस्टका अनुसार गुणस्तर जाँच नगरी कृषि जन्यवस्तु आयात हुनेगरेको र भन्सारले सहयोग नगरेको पोस्टका प्रमुख रामविलास रायले बताउनुभयो।
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०६६/६७ मा भारतलगायत तेस्रो मुलुकबाट रु एक अर्ब ४५ करोड ६० लाख मूल्य बराबरको सामान आयात गरी रु एक अर्ब ८२ करोड ६६ लाख राजस्व सङ्कलन गरेको बताएको छ।

0 comments:

Post a Comment