Friday, November 26, 2010

चार्ल्स शोभराज छुटाउनेलाई ५ करोड


काठमाडौं । लस्कर ए तोयवा' नामक अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग नेकपा माओवादीको सम्बन्ध रहेको भन्ने सूचनासहितको एक गोप्य प्रतिवेदन भारतीय सुरक्षा एजेन्सीमार्फत् नेपाल सरकारलाई काठमाडौंस्थित भारतीय दूतावासले बुझाएको खुलासा भएको एक साता altपनि नबित्दै अन्तर्राष्ट्रिय आतंकवादी र अपराधीहरूले सेन्ट्रल जेलको गोलघरभित्रबाट पाकिस्तान, अफगानिस्तान तथा भारतको मुम्बई र दिल्लीमा रहेका अलकायदा र दाउद गिरोहसँग सम्बन्धित आतंकवादीहरूसँग मोबाइल सम्पर्क गरेका छन्। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजले आफ्नी प्रेमिका निहिता विश्वासको सहयोगमा खानेकुरा भित्र राखेर मोबाइल हात पारी आफूलाई जेलबाट भगाउनेलाई ५ करोड दिने पूर्व योजना अनुरूप भारत र नेपालका 'अन्डर वर्ल्ड' डनहरू र माओवादीका एक जना नेता तथा आफ्ना वकिल निहिता विश्वासकी आमा सकुन्तला थापासँग वार्तालाप गरेका छन्। सकुन्तला थापा चार्ल्स शोभराजको वकिल मात्र नभएर माओवादी संगठनसँग पनि आवद्ध रहेकी छन्। यसलाई संयोगमात्र होइन अर्थपूर्ण मानिएको छ। जाली नोट र अवैध हातहतियारको कारोबारमा संलग्न रही सेन्ट्रल जेलमै रहेका दाउद गिरोहका अर्का सदस्य मानिने युनिस मियाँले पनि एकैसाथ अर्को मोबाइलबाट कश्मिर, पाकिस्तान र तराईका जिल्लाहरूमा रहेका 'लस्कर ए तोयवा' र दाउद गिरोहका व्यक्तिहरूसँग सम्पर्क गरेको जेलस्रोतको भनाइ छ। जेलस्रोतका अनुसार यसअघि पनि पटकपटक अन्तर्राष्ट्रिय अपराध गिरोहसँग सेन्ट्रल जेलभित्रबाट उल्लेखित व्यक्तिहरूले सम्पर्क राखेको बताइन्छ। यस सम्बन्धमा जेल प्रशासनले गृह मन्त्रालय र अपराध अनुसन्धान विभागलाई थप छानविन गर्न जानकारीसहितको पत्र पठाएको छ। सेन्ट्रल जेलका डीएसपी वीरेन्द्र बस्यालसँग सम्पर्क राख्दा मोबाइल बरामद गरेको स्वीकार गर्दै यस सम्बन्धमा विभागीय छानविन भइरहेको बताए। अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूसँग सम्बन्ध राख्ने चार्ल्स शोभराज र युनिस मियाँसँग मोबाइल, प्रहरी र जेल प्रशासनले नियुक्ति गरेका नाइके चौकीदारहरूकै माध्यमबाट पुगेको दाबी जेल स्रोतको छ। यसअघि प्रहरी प्रधान कार्यालयको 'एन्टी टेरोरिस्ट सेल' ले जेलभित्रका अपराधीहरूको मोबाइल सम्पर्कमाथि निगरानी राख्ने उपकरण जडान गरे पनि सो उपकरणलाई समेत 'चकमा' दिँदै अपराधीहरूले अन्तर्राष्ट्रिय सम्पर्क गर्न सफल भएका छन्। विशेष स्रोतका अनुसार 'लस्कर ए तोयवा'सँग सम्बन्ध राख्ने पाकिस्तानी नागरिक मोहम्मद खुलान सज्जाद –पासपोर्ट नं. २१७९९३ एई ५५७२८४१) सँग ठमेलको नाम खुल्न नसकेको एक गेस्टहाउसमा सम्पर्क गरिएको छ। स्रोतका अनुसार पाकिस्तानको कराँचीमा भतिजीको विवाहमा एक साताअघि देखा परेका दाउदसँग पनि युनिस मियाँ र उनका अर्का सहयोगीले मोहम्मद सञ्जादमार्फत् पाकिस्तानमा कुराकानी गरेका छन्। 'लस्कर ए तोयवा'का लतीफ खानसँग पनि मोबाइल सम्पर्क भएको बताइन्छ। नेपालका माओावदी र भारतीय माओवादीको 'लस्कर ए तोयवा' सँगको सम्पर्कलाई ध्यानमा राख्दै भारतीय सुरक्षा एजेन्सी र भारतको केन्द्र सरकारले मुम्बई र दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै उच्च सैन्य सुरक्षा यसै साता मिलाएको छ। नेपालका सुरक्षा निकायहरूलाई पनि माओवादीका सैन्य क्याम्प र लडाकु तथा माओवादी नेता प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराईमाथि कडा निगरानी राख्न अनुरोध गर्दै आतंकवादी हमलाको चपेटामा नेपाल पनि पर्न सक्ने गोप्य सूचना सरकारलाई दिएको छ। एक उच्च कुटनैतिक सुरक्षा स्रोतका अनुसार ६ महिनाअघि भारतीय सेनाको ६ बाकस विस्फोटक पदार्थले भरिएको आरडीएक्स र युरेनियम भारतीय माओवादीहरूले गायब गरेर नेपालको सीमावर्ती क्षेत्रबाट माओवादी प्रभावित क्षेत्र रोल्पाको दुर्गम ठाउँमा पुर्‍याएर लुकाएको बताइन्छ। भारतीय सुरक्षा अधिकारीहरूले घटनाको पुष्टि गर्दै यसमा छानविन भइरहेको सार्वजनिक भइसकेको छ।

0 comments:

Post a Comment