Wednesday, December 15, 2010

अर्कैतिर सल्किएपछि सभासद निलम्बित


काठमाडौं। यौनचाहना र कुण्ठालाई व्यवस्थित गर्न नसक्दा एकीकृत नेकपा माओवादीका सभासद्हरु धमाधम निलम्बनको कारबाहीमा परिरहेका छन्। आफ्नी श्रीमतीलाई धोका दिएर अर्कै महिलालाई 'कान्छी' श्रीमती बनाउने आश्वासन दिई, अहिले आएर कथित 'कान्छी'लाई पनि धोका दिएको खुलासा भएपछि अर्का एक सभासद निलम्बनमा परेका छन्। यसरी निलम्बनको कारबाही भोग्ने सभासद हुन् पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित गुणाखर बस्याल। गम्भीर यौन बिचलन र दुई नारीलाई धोका दिएको पुष्टि भएपछि एकीकृत माओवादीको तमुवान राज्य समितिले सचिवालय सदस्य समेत रहेका सभासद बस्याललाई निलम्बन गरेको खुलासा भएको छ।समाचारअनुसार यौन र आर्थिक मामिलामा पटक(पटक विवादमा पर्दै आएका सभासद् बस्यालले पछिल्लो पटक कारबाही भोग्नुपर्ने कारण चाहिं मकवानपुर घर भई हाल गोंगबुमा गेष्टहाउस सन्चालन गरेर बसेकी लामा थरकी एक सोझी महिलाको यौन र धन दुवै शोषण गरेर धोका दिएकाले हो। सभासद भएर काठमाडौं आएदेखि नै मदिरा र महिलामा लम्पट भएर बसेको आरोप पार्टीभित्रैबाट लागेपछि विवादमा परेका बस्यालले ती महिलालाई कान्छी श्रीमती बनाउँछु भनेर २ वर्षदेखि शारीरिक सम्बन्ध राखेको उजुरी परेको स्रोतले जनाएको छ। आफ्नी श्रीमती मृगौला रोगबाट थलिएपछि परस्त्रीतिर लागेका बस्यालले श्रीमती र छोराछोरीलाई भने चितवनमा घर बनाएर उतै राखेको कुरा समाचारमा बताइएको छ। सभासदबाट धोका पाएपछि गेष्टहाउस संचालक लामाले उनका सबै कर्तुत मिडियामार्फत् सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ। सभासद बस्यालले लामासँग लिएको लाखौं रुपैयाँसमेत पच पारेको आरोप छ। उनले पर्वतकै प्यूखोला लामाकै नाममा पास गरिदिएको स्रोतले जनाएको छ।उता यौनकाण्डमै परेपछि एमाओवादीकै अर्की सभासद् निरकुमारी दर्लामी (निरु) पनि निलम्बनको कारबाही भोगिरहेकी छिन्। एमाओवादीकै सिन्धुली जिल्ला इन्चार्जसँग लामो समयदेखिको यौनसम्बन्धलाई कार्यकर्ता र जनताबाट लुकाउन नसकेपछि सिन्धुली क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद निरु कारबाहीमा परेकी हुन्। उनीसँगै जिल्ला इन्चार्ज कार्की पनि निलम्बनमा परेको ताम्सालिङ राज्य समितिका एक सदस्यले बताए। माओवादीका तत्कालीन केन्द्रीय सदस्य शेरमान कुँवरकी श्रीमती निरु, श्रीमान जीवित हुँदै पनि एकजना पोलिटव्युरो सदस्यसँगको यौन सम्बन्धका कारण कारबाहीमा परेकी थिइन्। त्यस बेला ती नेता पनि कारवाहीमा परेका थिए। निरुले भने यौनसम्बन्धको कुरालाई स्वीकार गर्दै, यस्ता कुरा खोतल्दै जाने हो भने धेरै नेताहरु कारबाहीमा पर्ने चुनौती दिएकी छिन्। यसअघि माओवादीले यौनकाण्डको अभियोगमा पाल्पा क्षेत्र नम्बर २ की सभासद लिला सोमईलगायतका अन्य केही सभासदमाथि पनि कारबाही चलाएको थियो।

0 comments:

Post a Comment