Tuesday, February 8, 2011

आफ्नै बाबुद्वारा बेचिएर फर्केपछि...


आफ्नै बाबुद्धारा बेचिनुपर्ला भनेर कुनचाहिँ छोरीले सोच्न सक्लान् ? सायद कुनै पनि छोरीले यो हदसम्म कल्पनासम्म गरेका हुँदैनन्। तीन वर्ष भारतीय बेश्यालयमा नारकीय जीवन भोगेर स्वदेश फर्कन सफल एक युवतीले आफ्नै बाबुलाई विपक्षी बनाएर मुद्दा हालेकी छिन।छोरी बेचेको आरोपमा दुवाचौर–६ का ६२ वर्षीय लोकबहादुर घले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।आरोप स्वीकारेका लोकबहादुरविरुद्ध मानव बेचविखनको अभियोग लगाएर मुद्दा अघि बढाइएको छ। कोठीबाट भागेर फागुनमा गाउँ फर्केकी १८ वर्षीया 'चौतारा–आई' (प्रहरीले दिएको उपनाम) १० गते प्रहरी सम्पर्कमा आएपछि उनका बाबु पक्राउ परेका हुन्।सुरुमा ती युवतीले गाउँकै ईश्वर र रामकृष्ण घलेविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको भोलिपल्टै उनीहरु पक्राउ परेका थिए। तीनै जनासँग अनुसन्धान गर्दै जाँदा बाबुको समेत संलग्नता खुलेको हो। 'अभियुक्तद्वयले बाबु पनि संलग्न रहेको पोल लगाएको आधारमा युवतीसँग बयान लिंदा उनी आफैंले खुलासा गरिन्', प्रहरी निरीक्षक एकनारायण कोइरालाले नागरिकसँग भने। चौतारा– 'आई' को यो खुलासापछि प्रहरीले उनलाई समेत थाहा नदिई १९ गते लोकबहादुरलाई पक्रेको थियो।प्रहरीका अनुसार बयानमा उनले छोरीलाई आफैं घरबाट काठमाडौं लगेर दुई जना दलालको जिम्मा लगाएको स्वीकारेका छन्। उनले नाम लिएका ती दुई दलाल मानव वेचविखनको आरोपमा प्रहरीले सर्वाधिक खोजी गरिरहेको 'मोस्टवान्टेड' सूचीमा रहेका व्यक्ति हुन्। खोजी भइरहेकाले भाग्ने खतरा औंल्याउँदै प्रहरीले उनीहरुको नाम सार्वजनिक गर्न मानेन। 'दलालाई बुझाएपछि भारतबाटै बेश्यालय सञ्चालिका आएर छोरीलाई लगिन्', लोकबहादुरले बयानमा भने।पीडितले प्रहरी बयानमा आफू शारिरीक र मानसिक यातना भोग्न मात्र बाध्य नभएर आफ्नो छदाखाँदाको घरबार पनि चौपट भएको बताएकी छन्। चौतारा–९ का गम्भे घलेसँग उनको ०६३ माघमा विवाह भएको थियो। विवाहको केही समयमै श्रीमान्ले सौता हालेपछि लोकबहादुर आफैं आएर छोरीलाई माइती लगेका थिए। 'विवाह गरेकी छोरी माइतमा बसेको भनेर गाउँलेले कुरा काट्न थाले। काठमाडौं हिंड छोरी जागिरमा लगाउँछु', पीडितको भनाइ उदृत गर्दै अनुसन्धान अधिकृत कोइरालाले भने, '०६४ को मंसिरमा दलालको हातमा सुम्पेपछि नयाँ दिल्लीको सहिदनगरस्थित कोठीमा पुर्‍याइए।'
प्रहरीका अनुसार उनी कोठीबाट भागेर कोलकत्ता हुँदै तीन महिनामा गाउँ फर्किएकी हुन्। उनले भारतबाट कमाएर घरमा पैसा पठाएको पनि बताइन्। '१ लाख रुपैयाँ कमाएर बुबालाई दिएँ' उनले भनिन्। अभियुक्त घलेद्वयलाई दोस्रो र लोकबहादुरलाई पहिलोपटक शुक्रबार जिल्ला अदालतबाट सात दिने म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments:

Post a Comment