Monday, December 27, 2010

केटी पट्याउन गाह्रो हुन्छ-धुर्मुस


उनको वास्तविक नामले उनलाई कमैले चिन्छन् । हास्य टेलिसिरियल ‘मेरी बास्सै’का धुर्मुस अर्थात् सीताराम कट्टेलको परिचय यतिबेला पर्दाको चरित्रका कारण फेरिएको छ । टेलिसिरियलमा लामो कट्टुमा देखिने धुर्मुसलाई जिन्स पाइन्ट र टिसर्टमा देख्ने जो कोही पनि झुक्किन सक्छन् । सिरियलमा गाउँले ठिटो देखिए पनि वास्तवमा उनी हिरो नै छन् । तीतो सत्य, जिरे खुर्सानीलगायतका हास्य टेलिसिरियलमा अभिनय गरिसकेका उनी मेरी बास्सैका निर्देशक पनि हुन् । २५९ शृङ्खला पार गरिसकेको यस सिरियलमा उनलाई निर्देशन र अभिनयमा साथ दिइरहेका छन् माग्ने बूढा अर्थात् केदार घिमिरेले । यही सिरियलबाट जीवनसङ्गिनीको रूपमा उनले सुन्तली अर्थात् कुञ्जना घिमिरेलाई पाएका छन् ।
धुर्मुसको चरित्रले मानिसलाई बिगार्न प्रेरित गर्दैन ?
बिगार्दैन बरु सपार्छ । सोझो गाउँले केटाका कमी कमजोरीलाई देखेर अरू सपि्रन सक्छन् बरु ।
पर्दामा जस्तै परिवारलाई कत्तिको दुःख दिनुभएको छ ?
छैन । रिलमा जस्तै रियल लाइफमा व्यवहार गरे त कुरो बिग्री हाल्यो नि । वास्तविक जीवनमा म घरपरिवारको व्यावहारिक छोरो हुँ । परिवारका लागि घर निर्माण गर्दैछु ।
तपाइ मुख बङ्ग्याएर मात्र हसाउनुहुन्छ नि ?
मुख बङ्ग्याएर पनि हसाउनै पर्‍यो । यो त केवल पात्र अनुसारको नक्कल हो । यीबाहेक म फरक फरक भूमिकामा पनि देखिएको छु । क्यारिकेचर पनि गर्छु । सबै किसिमले हसाउने प्रयास गर्छु ।
प्रायः हास्य कलाकार जोडी टुटाउन अघि छन् ?
केदारजी र म निकै सङ्घर्ष गरेर आएका हौँ । हामीले धेरै सिनियर दाइहरूको जोडी टुटेको देख्यौँ । सबै केही न केही स्वार्थले जोडिने हो । हाम्रो केही स्वार्थ छैन । त्यसैले हाम्रो जोडी दिगो हुन्छ । जोडी टुट्नलाई पेसा नै परिवर्तन गर्नुपर्छ ।
किन प्रायः लामो कट्टुमा मात्र देखिनुहुन्छ ?धेरैले पहिरन चेन्ज गर्नु भन्नुभएको छ । बाहिर पनि मलाई धेरैले जिन्समा हिँड्दा चिन्नु हुँदैन । समय आउला नि अन्य पहिरन लगाउने पनि ।
चलचित्रमा अवसर नपाउनु भा’को हो ?प्रस्ताव त धेरै आए तर सुहाउँदो भूमिका नपाएकाले अस्वीकार गरेको हो । केवल हिरोको पछाडि मात्र घुम्ने प्रस्ताव स्विकार्ने कुरा पनि भएन । बरु आफैले कथा तयार गरिँदैछ । सबै कुरा मिले चलचित्र निर्माण नै गरिन्छ होला ।
सुन्तलीबाट कति पटक रिजेक्टेड हुनुभयो ?
आम्मै, केटी पट्याउने काम कम गाह्रो हुन्छ । एक पटकमा त कसले पो एसेप्ट गर्छ र ? म फेरि केटीसँग नबोल्ने मान्छे । बोल्दा पनि अकमकाउँथे । बिहे भन्ने कुरा लेखान्त भन्थे, त्यस्तै भयो । कुञ्जनालाई कहिले आई लभ यू नभने पनि उनले पछि मलाई स्विकारिन् ।
सुन्तलीबाहेक कति जनालाई आँखा लगाइयो ?म अलि लजालु स्वभावको मान्छे, कहाँ आँखा लगाउनु नि !कलाकारलाई त्यति पारिश्रमिक दिनुहुन्न रे नि ?यो सरासर गलत कुरा हो । हामी दुःख गरेर यस क्षेत्रमा आएकाले सबैको पिरमर्का बुझेका छौँ । सबैलाई सन्तुष्ट पार्ने गरी पारिश्रमिक दिएका छौँ ।

0 comments:

Post a Comment