Wednesday, March 2, 2011

हङ्कङमा बस्ने १५ हजार नेपालीले ६० हजार पाउने


हङकङका अर्थमन्त्री जोन चाङ चुनवाले १८ वर्ष उमेर पुगेका प्रत्येक स्थाई बासिन्दालाई छ हजार हङकङ डलर (करिब ६० हजार रुपैयाँ) नगद दिने घोषणा गरेका छन्। आज बजेट संशोधनको क्रममा गरिएको यो घोषणाले स्थानीय चिनियाँ र नेपालीहरूबीच निकै चर्चा पाएको छ।हङकङको स्थाई परिचय पत्र लिएका करिब १५००० नेपालीले यो सुविधा पाउने छन्।
हङकङ परिचयपत्र लिएर बस्ने नेपालीहरूको संख्या २०००० बढी भए पनि स्थाई परिचयपत्र लिने करिब १५ हजार भएको अनुमान छ। हङकङमै जन्मिएका वा सात वर्षदेखि वैधानिक रुपमा यहाँ बसेकाले मात्र स्थाई परिचयपत्र पाउँछन्। हङकङको स्थाई परिचयपत्र लिएका तर अहिले बेलायत र नेपालमा बसिरहेका करिब तीन हजार नेपालीले पनि यो सुविधा पाउने बताइएको छ। सोलिसिटर एकनारायण शर्मा भन्छन्, “हङकङको कानुनले आफ्ना नागरिकलाई एक ठाउँबाट अर्को ठाउँमा जान छुट दिएको छ, त्यसैले हङकङको स्थाई परिचयपत्र भएका तर अहिले बाहिर रहेका नेपालीले पनि यो सुविधा पाउँछन्।”

गत बुधबार बजेट सार्वजनिक गर्दै अर्थमन्त्री चाङले प्रत्येक स्थाई बासिन्दाको सञ्चय कोषमा छ हजार डलर हालिदिने घोषणा गरेका थिए। यसबाट काम गरिरहेका तर सञ्चयकोष नभएकाहरू बञ्चित हुने भन्दै सरकार समर्थक मुख्य राजनीतिक पार्टी डिएबि लगायत नागरिक सामाजले समेत माग गरेपछि अर्थमन्त्रीले नगदै दिने घोषणा गरेका हुन्। सरकारले सञ्चय कोषमा हालिदिने छ हजार डलर अवकासपछि मात्र प्रयोग गर्न पाइने तथा यो सुविधाबाट धेरै मानिस बञ्चित हुने भन्दै आगामी आइतबार विपक्षी डेमोक्रेटिक पार्टीको आह्वानमा विरोध प्रदर्शन आयोजना गरिएको छ।बुधबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री चाङले नगद सहयोग दिने यो व्यवस्थाले खासगरी कर्मचारी, गृहिणी र अवकास जीवन बिताइरहेकाहरूलाई राहत पुग्ने बताए। उनले यो नगद राहतबाट बञ्चित समुदायका लागि केही बजेट छुट्याइने जानकारी पनि दिएका छन्। अर्को वर्ष हङकङका कार्यकारी प्रमुख सहित लेजिसलेटिभ काउन्सिल र केही महिनापछि जिल्ला परिषद्को चुनावलाई लक्षित गरी सरकारले यस्तो 'पपुलिस्ट' बजेट ल्याएको हो।

0 comments:

Post a Comment