Sunday, February 13, 2011

लोडसेडिङले ५० प्रतिशत विज्ञापन घट्यो


विद्युतीय सञ्चार माध्यममा लोडसेडिङका कारण ५० प्रतिशतले विज्ञापनमा गिरावट आएको छ । दैनिक १४ घण्टाभन्दा बढी लोडसेडिङ हुन थालेपछि टेलिभिजन, एफएम रेडियोलगायतमा विज्ञापन घटेको हो । विद्युतीय माध्यममा विज्ञापन घटेका बेला छापा माध्यममा बढ्ने गरेको भए पनि यसपटक यो प्रवृत्ति नदेखिँदा विज्ञापन उद्योग क्षेत्र नै मारमा परेको छ ।नेपाल विज्ञापन संघ (आन)का अनुसार गत वर्ष विद्युतीय माध्यममा करिब १ अर्ब रुपैयाँको विज्ञापन कारोबार भएको थियो । चालू आर्थिक वर्षको हालसम्मको प्रवृत्ति हेर्दा गत वर्षको तुलनामा विज्ञापनको कारोबारमा ५० प्रतिशतसम्म कमी आउन सक्ने सम्बद्ध विज्ञापन एजेन्सीहरुले बताएका छन् ।विद्युतीय माध्यमहरु टेलिभिजन, एफएम रेडियो, फिल्म तथा अनलाइनमध्ये सबैभन्दा बढी मारमा टेलिभिजन परेको छ । लोडसेडिङ दैनिक १६ घण्टा हुन थालेमा ६० प्रतिशतभन्दा बढी टेलिभिजन विज्ञापनमा कटौती हुने आनका निवर्तमान अध्यक्ष निर्मलराज पौडेलले बताए ।“बन्द, हडताल र अस्थिर राजनीतिले उद्योग, कलकारखाना तथा व्यावसायिक घरानामा परेको प्रभाव विज्ञापनमा पनि प्रतिविम्बित भएको छ,” उनले भने “मुलुकमा शान्ति सुरक्षा र लगानीको सुनिश्चितता भएमा वार्षिक ४० देखि ५० प्रतिशतको हाराहारीमा विज्ञापन बजार बढाउन सकिन्छ ।”प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले लोडसेडिङ बढ्दै गएपछि विज्ञापनदाताहरुले टेलिभिजन विज्ञापन आधा घटाएको बताए । “नयाँ विज्ञापनदाता आएका छैनन्, पुरानाले पनि यतिबेला टेलिभिजनको विज्ञापन रोकेका छन्,” उनले भने ।प्राधिकरणले लोडसेडिङ बढाउँदै गएपछि कुल विज्ञापनको ३० देखि ३५ प्रतिशत विज्ञापनमा ह्रास आएको आनले जनाएको छ । टेलिभिजनबाहेक अन्य विद्युतीय माध्यम एफएम रेडियो, फिल्म र अनलाइनमा ३० देखि ४० प्रतिशत गिरावट आएको थम्सन एड्भरटाइजिङ प्रालिले जनाएको छ ।सरकारले सन् २०११ लाई पर्यटन वर्ष घोषणा गरे पनि दैनिक १४ घण्टा लोडसेडिङको विकल्प नखोजेकोमा विज्ञापन व्यवसायीले आपत्ति जनाएका छन् । चालू आवमा सुरुवातका दुई–तीन महिना विज्ञापनमा राम्रो वृद्धि भए पनि अहिलेको गिरावटले आर्थिक वर्ष भरिकै लागि चिन्ता थपिएको व्यवसायीहरु बताउँछन् ।गत वर्षको तुलनामा यस वर्ष ठूल्ठूला कार्यक्रम तथा अभियानहरु पनि सञ्चालन गरिएका छैनन् । राजनीतिक अस्थिरता, लगानीको वातावरण नहुनु तथा उद्योगी व्यवसायीमाथि हुने गरेका चन्दा आतंक एवं स–साना विषयलाई लिएर गरिने चक्काजाम र बन्द हड्तालले विज्ञापन क्षेत्र प्रभावित भएको छ । पर्यटन वर्ष घोषणा भएपछि विज्ञापन व्यवसायमा केही सुधार आउने अपेक्षामा रहेका व्यवसायी यतिबेला निराश भएको त्रिकोण एड्भरटाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले बताए ।गत वर्ष १२ घण्टासम्म लोडसेडिङ हुँदा विज्ञापनको दरमा केही सहुलियत दिएर भए पनि प्रसारण गर्ने गरिएको थियो । आव ०६६/६७ मा स्वदेशी विज्ञापन बजारमा ३ अर्ब ५५ करोडको कारोबार भएको थियो । लोडसेडिङ न्यून गर्नेतर्फ सरकारको ध्यान नगए चालू आवको अत्यसम्ममा गत वर्षसरह पनि कारोबार नहुने व्यवसायीहरुले बताएका छन् । आव ०६५/६६ मा ३ अर्ब १५ करोड रुपैयाँ रहेको विज्ञापन बजारमा एक वर्षको अन्तरालमा ४० करोड वृद्धि भएको थियोे ।

0 comments:

Post a Comment