Tuesday, March 8, 2011

भाडाकी श्रीमतीले तनाब / सन्तानलाई अंश बाबुबाट मात्र


विकास भट्टराई, (काठमाडौं), भाडाकी श्रीमतीबाट जन्मेकी बच्चीले बाबुको सम्पत्तिबाट मात्र अंश पाउने फैसला काठमाडौं जिल्ला अदालतले गरेको छ।न्यायाधीश टेकनारायण कुँवरको इजलासले त्यस्ती आमाबाट बच्चा जन्माउन विवाहिता श्रीमती राजी नभएका कारण त्यस्तो बच्चालाई बाबुको सम्पत्तिबाट मात्र अंश दिलाउनुपर्ने सोमबार फैसला गरेको हो। काठमाडौंका उज्ज्वल राणाले आफ्नी श्रीमतीबाट बच्चा नहुने भएपछि अर्की महिला खोजी बच्चा जन्माउनका लागि सम्झौता गरेका थिए। सो सम्झौताबमोजिम उज्ज्वलले आफ्नो वीर्य आइस्मा नगरकोटीको पाठेघरमा राखी बच्चा जन्माउने र त्यसको दुई वर्षसम्म प्रत्येक महिना उज्ज्वलले आइस्मालाई २० हजार रुपियाँ दिने सर्त रहेको थियो।उक्त सम्झौताबमोजिम दुई वर्षअघि आइस्माको कोखबाट बिना राणाको जन्म भएको थियो। यसबीचमा उज्ज्वलकी विवाहिता श्रीमती शाम्भवी शाह श्रीमान्सँग खटपट भई अलग्गै बस्न थालेकी थिइन्। सँगै बसोबास गर्न सम्भव नदेखेपछि शाम्भवीले उज्ज्वलसँग अंश माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। शाम्भवीले भएभरको सम्पत्तिमा सासू र लोग्नेबीच दुई भाग लगाई आफूले लोग्नेबाट अंश पाउनुपर्ने दाबी गरेकी थिइन्।लोग्ने उज्ज्वलले भने बच्चीको पनि अंश भाग लगाउनुपर्ने दाबी गरेका थिए। काठमाडौं जिल्ला अदालतले भने विवाहिता श्रीमतीले अरुबाट बच्चा पाउन सहमति नदिएका कारण त्यस्ती बच्चीले बाबुको सम्पत्तिबाट मात्र अंश पाउने फैसला गरेको छ।आफ्नी आमा र आफूबीच पहिल्यै अंशबन्डा भइसकेको भनी उज्ज्वलले दाबी गरेका भए पनि असमान तबरबाट अंशबन्डा भएको ठहर गरी अदालतले त्यसलाई बदर गरी पुनः अंश भाग लगाउनुपर्ने फैसला गरेको छ।

यसै गरी अदालतले आमा र लोग्ने मिली जालसाजी गरेको ठहर पनि गरेको छ। भाडाकी श्रीमतीबाट बच्चा जन्माउने प्रचलन विदेशमा व्यापक भए पनि नेपालमा भने यस प्रकारको विषय बाहिर आएको यो पहिलो भएको बताइन्छ।

0 comments:

Post a Comment