Thursday, March 10, 2011

संचार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार


नक्कली भारु कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परी केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि आज बिहान गोली प्रहार भएको छ। कडा सुरक्षा व्यवस्था रहने त्रिपुरेश्वरको केन्द्रीय कारागरमा बिहान १० बजेपछि कैदीहरुलाई भेटघाट गर्ने कक्षमा भेट्न भनी आएका एक व्यक्तिले गोली हानेका हुन्।
काठमाडौं प्रहरी प्रमुख पुष्कर कार्कीले गोली प्रहार भएको पुष्टि गर्दै घटनामा संलग्न एकजनालाई हतियार सहित पक्राउ गरेको जानकारी दिए। पक्राउ परेका व्यक्ति जस्जिद सिंह भारतीय नागरिक रहेको र उनले आफूलाई १५ लाख रुपैयाँ दिएर मार्न पठाएको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। युनिसका बाबु सलिम मिया अन्सारीले प्रहरीको मिलेमतोमा गोली प्रहार भएको आरोप लगाएका छन्।बायाँ हातमा गोली लागेर घाइते भएका अन्सारीको अहिले नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ। अन्सारी नेशनल टेलिभिजनका संचालक हुन्।
कसरी हानियो गोली ?-त्रिपुरेश्वरको केन्द्रीय कारागरलाई अति संवेदनशील स्थलका रुपमा कडा सुरक्षाको व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय कुख्यात अपराधी चार्ल्स शोभराजदेखि नेपाली 'डन' हरुसम्मलाई यहीँ राखिएको छ। यहाँ कैदी भेट्न आउनेले विभिन्न चरणमा सुरक्षा जाँच पार गर्नुपर्छ। खैनी, बिडी, चुरोट, लाइटर, मोबाइल जस्ता सामान बाहिरै राखेर मात्र भित्र कैदीलाई भेट्न दिइन्छ। यस्तो अवस्थामा कसरी हतियार भित्र लग्न खान सफल भए, गम्भीर प्रश्न उठेको छ।घटनास्थल स्रोतलाई उदधृत गर्दै प्रहरीले बताए अनुसार चेन गेटभित्र अन्सारी र बाहिर उनलाई भेट्न भनी आएका खान थिए। खानले चेनगेट भित्रै हात घुसाएर पेस्तोलबाट गोली प्रहार गरेका हुन्।

0 comments:

Post a Comment