Thursday, December 23, 2010

विज्ञापनसँगै बढ्यो कलाकारको कमाइ



मनीषा कोइराला पारिश्रमिकः करिब १ करोड कम्पनीः होम टिभी
मदनकृष्ण श्रेष्ठ/हरिवंश आचार्य (मह),पारिश्रमिकः २० देखि २५ लाख ,कम्पनीः डिस टिभी, प्राइम लाइफ इन्स्योरेन्स, वेस्टर्न युनिय आदि ।
राजेश हमाल,पारिश्रमिकः १२ देखि २० लाख,कम्पनीः जगदम्बा स्टिल, डाबर नेपाल, प्राइम लाइफ इन्स्योरेन्स आद

निजी क्षेत्रका कम्पनीले आफ्ना वस्तु तथा सेवाको विज्ञापन गर्दा महँगो मूल्य तिरेर नेपाली कलाकार अनुबन्ध गर्ने क्रम बढेको छ । दैनिक उपभोग्य वस्तुका रूपमा प्रतिस्पर्धा गरिरहेका जुस, डीटीएच टेलिभिजन, छड, सिमेन्टलगायतले नेपाली कलाकारलाई विज्ञापनमा खेलाई १ करोड रुपैयाँसम्म पारिश्रमिक दिन थालेका छन् ।तीब्र प्रतिस्पर्धी कम्पनी मानिएका र हाल मिल्न लागेका होम टिभी र डिस टिभीले नेपाली कलाकारलाई विज्ञापनमा खेलाएबापत अहिलेसम्मकै सबैभन्दा बढी रकम तिरेका छन् । त्यसपछि डाबर नेपाललगायतका कम्पनीले पनि कलाकारलाई आकर्षक पारिश्रमिक दिएका छन् । भारतीय रजतपटकी लोकप्रिय नेपाली नायिका मनीषा कोइराला, चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), नेपाली सुपरस्टार राजेश हमाल, करिश्मा मानन्धर, भुवन केसी, रेखा थापा, नीमा रुम्बा, झरना थापा, जितु नेपाललगायतका कलाकारलाई नेपाली निजी क्षेत्रले विज्ञापनमा प्राथमिकता दिएको देखिन्छ ।नेपाली कलाकारले विज्ञापन खेलेबापत लिने पारिश्रमिकमध्ये मनीषाले हालसम्मकै बढी करिब १ करोड रुपैयाँ लिएकी छन् । उनलाई एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बेस्डर बनाउँदा डीटीएच सेवाप्रदायक होम टिभीले करिब १ करोड रुपैयाँ तिरेको छ । सामाजिक सेवा क्षेत्रका विज्ञापनमा अभिनय गरेको महजोडीलाई आफ्नो तत्कालीन प्रतिस्पर्धी डिस टिभीले अनुबन्ध गर्दा उपभोक्ता आकर्षित भएपछि होम टिभीले मनीषालाई महँगो मूल्य तिरेर अनुबन्ध गरेको थियो ।पछिल्लो समय व्यापारिक विज्ञापनमा पनि देखिन थालेको मह जोडीले एउटा व्यापारिक विज्ञापनबाट २० देखि २५ लाख रुपैयाँसम्म लिने गरेको सम्बद्ध निकायले जनाएको छ । महले डिस टिभी, प्राइम लाइफ इन्स्योरेन्स, वेस्टर्न युनियनको विज्ञापनमा यही अनुपातमा पारिश्रमिक लिएको स्रोतले बतायो ।
मनीषालाई तिरेको रकमको तुलनामा होमी टिभीको प्रसार–प्रसार प्रभावकारी नभएको विज्ञापन एजेन्सी बताउँछन् । मह जोडी अभिनीत विज्ञापनको तुलनामा मनीषा अभिनीत होम टिभीको विज्ञापन कमजोर देखिने उनीहरूको आँकलन छ ।पछिल्लो समय कलिउडका सुपरस्टार राजेश हमालले विज्ञापनमा अभिनय गर्ने क्रम बढेको छ । फिल्ड सुटिङभन्दा फुर्सदको समय मिलाएर विज्ञापनमा देखापर्ने राजेशले प्रतिविज्ञापन १२ देखि २० लाख रुपैयाँसम्म लिन्छन् । जगदम्बा स्टिल, डाबर नेपाललगायतका कम्पनीबाट उनले १५ देखि २० लाख रुपैयाँ लिएको स्रोत बताउँछ ।निजी क्षेत्रका उद्योगी–व्यवसायीले ब्रान्ड प्रबद्र्धनमा अनुबन्ध गर्ने क्रम बढेपछि राजेशले आधाभन्दा धेरै विज्ञापनमा अभिनय गर्न नभ्याएको उनीनिकट स्रोतले जानकारी दियो । “फिल्ममा धेरै समय दिनुपर्ने भएकोले विज्ञापनलाई सयम दिन नसकिएको हो, आम्दानीका हिसाबले विज्ञापन राम्रो छ,” स्रोतले भन्यो ।विज्ञापन एजेन्सीहरूका अनुसार सामान्य नागरिकले विज्ञापनमा खेले पनि न्यूनतम ५ हजार रुपैयाँ पाउने गरेका छन् । नाम चलेका र विज्ञापनको क्षेत्रमा प्रभावकारी योगदान दिनसक्ने स्थापित कलाकारले २० लाख रुपैयाँसम्म लिने गरेका छन् । यो कोटीमा राजेश, महजोडीलगायत पर्छन् । चलनचल्तीका केही अन्य कलाकारलाई १ देखि ५ लाख रुपैयाँ दिने गरिएको छ, जसमा रेखा थापा, करिश्मा मानन्धर, भुवन केसीलगायतका पर्छन् हास्यकलाकारहरूले विज्ञापनमा अभिनय गरेबापत सामान्यतः ७ हजारदेखि १ लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छन् । कतिपय नयाँ कलाकारहरू आफै खर्च गरेर पनि विज्ञापनमा आउन चाहने एजेन्सीहरूको दाबी छ । विज्ञापन क्षेत्रमा आउन चाहने र ब्रान्ड सुहाउँदो शारीरिक बनावट र अभिनय गर्नसक्ने क्षमता भएमा खाली हात नपठाउने विज्ञापन एजेन्सी संघ (आन)का निर्वतमान अध्यक्ष निर्मलराज पौडेलले बताए ।बलिउडबाट कलिउडमा आएकी मनीषाले विज्ञापनमा लिने पारिश्रमिकले अन्य कलाकारलाई पछि पारे पनि विज्ञापन एजेन्सी र स्वयं ब्रान्ड एम्बेस्डर बनेको कम्पनीलाई भने उनले खुसी पार्न नसकेको स्रोतले बतायो । होम टिभीका एक अधिकारीले मनीषाले गर्नुपर्ने भूमिकासमेत पूरा नगरेको गुनासो गरे । नेपाली विज्ञापनमा अभिनय गर्दै आएका कलाकारको विज्ञापनमा पारिश्रमिक लिने क्रम बर्सेनि १० देखि १५ प्रतिशतले बढेको छ । विज्ञापनमा कलाकारले दिने भूमिका, कठिनाइ, योग्यता र दक्षताको आधारमा पारिश्रमिक व्यवस्था गरिने सम्बद्ध एजेन्सीहरूले बताएका छन् । सबै वस्तुको भाउ बढेअनुसार कलाकारको पारिश्रमिक बढ्नु समयसान्दर्भिक भएको नेपाल चेम्वर अफ कर्मशका अध्यक्ष सुरेन्द्रवीर मालाकारले बताए । “ब्रान्ड प्रबद्र्र्धन गर्न आउने कलाकारले उद्योगी र व्यवसायको आर्थिक पक्षमा ध्यान दिनुपर्छ,” उनले भने ।

0 comments:

Post a Comment