Thursday, November 4, 2010

गैरआवासीय नेपालीले पनि नागरिकता पाउने


काठमाडौं, कात्तिक १८ । उच्चस्तरीय कार्यदलको बैठकले नागरिकतासम्बन्धी विवादको टुङ्गो लगाएको छ ।
सिंहदरवारमा विहीबार विहान बसेको कार्यदलको बैठकमा प्रदेशको पहिचान खुल्ने गरी केन्द्रबाट एकल नागरिकताको व्यवस्था गर्ने सहमति भएको हो ।राज्यव्यवस्था समितिको कार्यकक्षमा झण्डै दुई घण्टा बसेको बैठकमा गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था गर्ने सहमति भएको छ ।सहमतिअनुसार गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार नभएको नागरिकता उपलब्ध गराइने छ । यद्यपी उनीहरुलाई लगानी गर्ने भने बाटो खुलेको छ । यसअघि गैरआवासीय नेपालीले दोहोरो नागरिकताको व्यवस्था नभएकोले नेपालमा लगानी गर्न समस्या परेको गुनासो गर्दै आएका थिए ।
यसैगरी अङ्गीकृत नागरिकताको हकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्याग्ने प्रक्रिया सुरु गरेपछि नेपाली नागरिता पाउने बैठकमा सहमति भएको छ ।
नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले भने नेपाली नागरिकता पाउन १५ वर्षसम्म नेपालमा स्थायी बसोबास गरेको प्रमाण पेश गर्नुपर्ने प्रावधान नयाँ संविधानमा उल्लेख हुने भएको छ ।
अङ्गीकृत नागरिकता पाउने विदेशीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायका प्रमुख तथा प्रधानन्यायाधीस जस्ता पद पाउने छैनन् । प्रदेशमा भने उनीहरु प्रमुख र उपप्रमुख हुन नपाउने नयाँ संविधानमा व्यवस्था हुने भएको छ ,यसैगरी बैठकले कार्यदलको म्याद थप्न २७ दलको पूर्ण बैठकलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । अपरान्ह संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने २७ दलको बैठकले कार्यदलको म्याद थपको निर्णय गर्नेछ ।
संविधानका विवादित विषयमा सहमति जुटाउने उद्देश्यले गत असोज २५ गते गठन गरिएको कार्यदलको म्याद विहीबार सकिदै छ ।

0 comments:

Post a Comment