Tuesday, November 2, 2010

३१ करोडको चेक हराएपछि...


काठमाडौं । माछापुच्छ्रे बैंकले व्यापारी वासुदेव श्रेष्ठको नामबाट दिएको ३१ करोड रूपैयाँको 'गुड फर पेमेन्ट' चेक हराएपछि बैंक र दुई व्यापारीबीच विवादले उग्र रूप लिएको छ।कस्मिक एयरका मालिक रविन्द्र प्रधानले अर्का व्यापारी वासुप्रसाद श्रेष्ठले जग्गा बेच्दा माछापुच्छ्रे बैंकले श्रेष्ठको नामबाट दिएको 'गुड फर पेमेन्ट चेक' हराएको हो। बैंक र व्यापारी श्रेष्ठले उक्त चेकबापतको रकम तिरिसकेको बताएका छन् भने प्रधानले भने आफूले पूरै पैसा नपाएको बताएका छन्। तीन पक्षको यस विवाद नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय मात्र नभई प्रहरीमा समेत पुगेको छ। व्यवसायी प्रधानले आफ्नो जग्गाबापतको पूरै रकम नपाएको बताउँदै 'गुड फर पेमेन्ट'मा उल्लेख भएको रकमको दाबी गरेपछि विवाद सुरु भएको हो। बैंकले भने दुवै पक्षबीच लेनदेन मिलिसकेकाले प्रधानलाई थप रकम दिन बाँकी नरहेको दाबी गरेको छ। तर प्रधानले भने आफूले ८ करोड लिन बाँकी रहेको दाबी गर्दै अख्तियार र प्रहरीलाई गुहारेका हुन्। उनले 'गुड फर पेमेन्ट' चेक भने प्रस्तुत गर्न सकेका छैनन्। 'गुड फर पेमेन्ट' चेक उल्लेखित रकमको ग्यारेन्टी लिएर बैंकहरूले जारी गर्ने गर्छन्। त्यस्तो चेकको रकम सम्बन्धित व्यक्ति वा बैंकले नदिएमा बैंकको राष्ट्र बैंकमा रहेको कोषबाट समेत काटिन सक्छ।राष्ट्र बैंक तथा प्रहरी स्रोतका अनुसार प्रधानले नवलपरासीको बर्दाघाटमा रहेको आफ्नो जग्गा अर्का व्यापारी वासुप्रसाद श्रेष्ठलाई गत वर्षको असोज महिनामा ३१ करोड रूपैयाँमा बिक्री गरेका थिए। श्रेष्ठले माछापुच्छ्रे बैंकबाट ऋण लिएर उक्त जग्गा खरिद गरेका थिए। उक्त जग्गा हाल माछापुच्छ्रेकै धरौटीमा रहेको छ। बिक्री गरिएको मध्ये आधाजसो जग्गा अन्य तीन वटा वाणिज्य बैंकमा ऋणबापत धरौटीमा रहेकाले प्रधानको १७ करोड ऋण ती बैंकहरूलाई तिरिदिएर माछापुच्छ्रे बैंकले उक्त जग्गा किन्न श्रेष्ठलाई कर्जा दिएको थियो। बैंकले 'गुड फर पेमेन्ट' चेक दिएपछि प्रधानले उक्त जग्गा श्रेष्ठको नाममा गत वर्ष नै पास गरिदिसकेका थिए। तर अझै करिब आठ करोड रूपैयाँ जग्गाबापत आफूले नपाएको बताउँदै प्रधानले माछापुच्छ्रे बैंक र व्यापारी श्रेष्ठविरुद्ध अख्तियार, जिल्ला प्रशासन र प्रहरीमा गुहारेका हुन्। बैंक र व्यापारी श्रेष्ठले भने सबै पैसा चुक्ता गरिसकेको बताएका छन्। प्रधानले आफूले पैसा पाउनुपर्ने बताएका छन् तर 'गुड फर पेमेन्ट' चेक पेश गर्न सकेका छैनन्, त्यसको फोटोकपी मात्र उनले पेश गरेका छन्। बैंकले भने उनले उक्त चेक नै पेश गर्न सके आफू पैसा दिन तयार रहेको बताएको छ। उक्त चेक हराएको प्रधानको भनाइ छ। ३१ करोडको आधिकारिक चेक प्राप्त गर्न नसकेपछि अख्तियार र प्रहरीले पनि कुनै निर्णय गर्न सकेको छैन। महानगरीय प्रहरी अपराध महाशाखाले गत हप्ता तीनै जनालाई बोलाएर छलफल गराएको थियो। तर उक्त छलफल एक अर्कालाई दोष लगाउने मात्र काम भएको थियो। महाशाखाका एसएसपी रणबहादुर चन्दले नै उक्त केशको अनुसन्धान गरिरहेका छन्।

0 comments:

Post a Comment