Thursday, October 28, 2010

सिस्नु बेचेर लखपति


११ कात्तिक, म्याग्दी । बाटोको किनारा, खेतबारी र जङ्गलभरि खेर गइरहेको च्वास्स पोल्ने झार सिस्नु बेचेर यसवर्ष यहाँका महिलाले झोलीभरि लाखौं रुपियाँ जम्मा पारेका छन् ।
जिल्लाको दाना, घार, घतानलगायतका गाविसका महिलाले सिस्नुको मुन्टा र फूलको धूलो बनाइ सिस्नु पाउडर बिक्री गरेर यो वर्ष रु. पाँच लाख ५० हजार आम्दानी गरेका हुन् । यहाँका महिलाले यसवर्ष १३ क्विटन्ल सिस्नुको धूलो उत्पादन गरी जिल्लाबाहिर बिक्री गरेर यो आम्दानी गरेका हुन् ।
सिस्नु बेचेर यसवर्ष दानाकी मैती तामाङले रु. ३० हजार आम्दानी गरेकी छन् । यो वर्ष सिस्नुको धूलो बेचेर २५ हजार रुपियाँ र टिमुर बेचेर ६० हजार रुपियाँ आम्दानी गरे, नेप्टेचौरकी गङ्गा खत्रीले ।
असोजदेखि फागुनसम्म सिस्नु टिप्ने, धूलो बनाइ बिक्री गर्ने र प्रयोग गर्ने ‘पिक सिजन’ हो । सादा सुपको रूपमा तथा मास, सिमीलगायतका दालमा मिलाएर प्रयोग गर्न सकिने सिस्नु पाउडर मधुमेहका बिरामीले खोजी-खोजी प्रयोग गर्ने गरेका छन् । सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले गर्मी मौसममा खानु उपयुक्त हुँदैन । हिजोआज सिस्नु सहरिया सम्भ्रान्त व्यक्तिहरूले खोजीखोजी खान थालेका छन् ।
सिस्नु विदेशमा रहेका आफन्तलाई पठाउने कोसेली पनि बनेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार सिस्नुमा जलांश ९ दशमलव ८५ प्रतिशत, भष्म १६ दशमलव ७५ प्रतिशत, क्रुड फाइवर ७ दशमलव ९९ प्रतिशत, क्रुड फ्याट १ दशमलव ८७ प्रतिशत, क्रुड प्रोटिन २४ दशमलव पाँच प्रतिशत र आइरन प्रतिमिलीग्राम २३ दशमलव २० प्रतिशत रहेको छ ।
लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सङ्गम नामक संस्थाले स्थानीय स्रोतमा आधारित उद्यम स्थापना गर्न सहयोग गरेपछि जिल्लाको दाना, घार, घतान, कुइने र देवीस्थान गाविसका महिलाले सिस्नु पाउडरलाई गुणस्तरीय बनाउन सोलार ड्रायरको प्रयोग गर्ने गरेका छन् । रासस

1 comments:

Post a Comment