Thursday, October 28, 2010

सुजाताले सुदलाई भेटिन्


उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई बुधबार परराष्ट्र मन्त्रालयमै भेटेर सोलुमा सुदमाथि भएको माओवादी आक्रमणबारे छलफल गरेकी छिन् ।
छलफल सोलुखुम्बुमा सुदमाथि भएको आक्रमणबारे मात्रै केन्दि्रत रहेको मन्त्री कोइरालाले नै पुष्टि गरिन् । 'मैले नै बोलाएकी हुँ,' निजी सचिवालयमा बुधबार मध्याह्न १५ मिनेट भएको भेटबारे परराष्ट्रमन्त्री कोइरालाले भनिन्, 'सोलु घटनाबारे विस्तृतमा छलफल भयो ।'
सोलुको खुम्जुङमा भारतीय सहयोगमा निर्मित परियोजना उद्घाटन गर्न गएका भारतीय राजदूत सूदमाथि २० असोजमा सल्लेरीमा माओवादी कार्यकर्ताले जुत्ता प्रहार तथा गाडीमा आक्रमण गरेका थिए । बुधबार सुदसँगको भेटवार्तापछि उपप्रधानमन्त्री कोइरालाले जुत्ता प्रहार भियाना कन्भेन्सन र कूटनीतिक मर्यादाविपरीत भएको बताइन् ।
'सुदमाथिको जुत्ता प्रहार भारतमाथिको आक्रमण हो,' मन्त्री कोइरालाले भनिन्, 'यस्तो घटनाले देशमा अस्थिरता निम्त्याउँछ ।' स्रोतका अनुसार मन्त्री कोइरालाले सोलु घटनाबारे गृह मन्त्रालयसँगको समन्वयमा आवश्यक छानबिन प्रयास भइरहेको बताएकी थिइन् ।
भेटमा राजदूत सुदले जनकपुर-जयनगर रेल सेवाको एक खण्ड विस्तारका क्रममा अवरोध पुर्‍याइएको भन्दै आक्रोश व्यक्त गरेका थिए । केही दिनअघि नेपालस्थित भारतीय दूतावासले पत्र पठाइ रेल सेवा विस्तारका क्रममा अवरोध भएको भन्दै सुरक्षा माग गरेको थियो ।
'नेपालमा सञ्चालित जनकपुर-जयनगर रेल सेवा भारतीय सहयोगमा सञ्चालित परियोजना हो,' दूतावासको पत्रमा भनिएको छ, 'परियोजना विस्तारका क्रममा खटिने इन्जिनियर प्राविधिकहरूको सुरक्षा जिम्मा नेपाल सरकारले लिनुपर्छ ।' त्यसलगत्तै परराष्ट्रले गृह मन्त्रालयलाई पत्राचार गरी दूतावासको चासो र चिन्ताबारे अवगत गराएको थियो । मन्त्रालय स्रोतका अनुसार बुधबार भएको भेटमा राजदूत सुदले त्यसबारे पनि मन्त्रीसँग जिज्ञासा राखेका थिए । भेटमा परराष्ट्र मन्त्रालयका भारत शाखा हेर्ने सहसचिव हरिकुमार श्रेष्ठ सहभागी थिए ।

राजदूत सूदले आफूलाई जुत्ता प्रहार गर्नेमाथि कारबाही नभएको भन्दै उच्च सरकारी अधिकारीलाई सीधै भेटेर असन्तुष्टि जनाउँदै आएका छन्

0 comments:

Post a Comment