Friday, November 12, 2010

बेलायतका परराष्ट्रमन्त्रीको सल्लाहकारमा नेपाली

काठमाडौ, कात्तिक २६ । बेलायतमा अन्तरराष्ट्रिय कानुनको प्राध्यापन गरिरहेका प्रा.डा.सुर्यप्रसाद सुवेदी त्यहाँका परराष्ट्रमन्त्रीको सल्लाहकार समिति सदस्यमा नियुक्त भएका छन् ।
बेलायती परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा सुवेदीलाई सेक्रेटरी अफ स्टेट्स विलियम हेगले आफ्नै अध्यक्षतामा रहेको समितिको सदस्यमा नियुक्त गरेको उल्लेख छ ।
प्रा. सुवेदी लगायतका मानवअधिकार र अन्तराष्ट्रिय कानुनी क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरुलाई यसरी सल्लाहकारमा नियुक्ति गरेको जानकारी मन्त्री हेगले बेलायतको संसदलाई समेत दिएका छन् ।
बेलायतमा केही महिना अघि भएको आम निर्वाचनपछि गठित कन्जर्भेटिभ र लिवरत डेमोक्रेटिक संयुक्त सरकारका परराष्ट्रमन्त्रीले अन्तराष्ट्रिय स्तरमा मानव अधिकारको संरक्षण र सम्बर्धन गर्नु बेलायती परराष्ट्र नीतिको प्रमुख लक्ष्य रहेको बताएका थिए ।
त्रिभुवन विश्वविद्यालयका कानुनका स्नातक सुवेदीले बेलायतकै हल विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भई अन्तराष्ट्रिय कानुनमा स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनका मानवाधिकार र अन्तराष्ट्रिय कानुन सम्बन्धी कृतिहरु प्रकाशित छन् । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापन गरिरहेका उनी केब्रिज विश्वविद्यालय प्रेसले प्रकाशित गर्ने 'एशियन जर्नल अफ इन्टरनेश्नल ल' का सम्पादक पनि हुन् ।

0 comments:

Post a Comment