Monday, November 8, 2010

एकै गाउँबाट ३ करोडको मखमली माला बिक्री


२२ कात्तिक, भक्तपुर । हिन्दुको दोस्रो चाड तिहारमा भक्तपुरको एकै गाउँबाट रु तीन करोडको मखमली माला बिक्री भएको छ । गुण्डु गाविसका किसानले यस वर्ष फूल र माला बिक्रीबाट रु तीन करोडको आम्दानी भएको बताए ।

बिक्रीका लागि घरघरमा साउनदेखि नै मखमली माला उनेर तयारी अवस्थामा राखिएको थियो । माला उन्न किसानलाई कात्तिक महिनाभर भ्याइनभ्याई थियो । भक्तपुरको गुण्डुमा सबैभन्दा बढी फूल खेती हुन्छ । यहाँका किसानले एकै घरमा कम्तीमा पनि ५०० माला उनेर तयार गर्दछन् । गुण्डुको ४, ८ र ९ वडाका प्रत्येक घरले कम्तीमा पनि आधा रोपनीदेखि पाँच रोपनी बारीमा फूलेखती गर्ने गरेका छन् ।

सबैले साउनदेखि मखमली माला तयार गरी घरको ओसिलो ठाउँमा राख्ने गर्दछन् । तीन हजार माला उनेर बिक्री गरेकी किसान सरिता कुँवरले भनिन्- ‘माला खोज्न व्यापारी आउनुभन्दा पहिला नै तयार गरेको हो, तिहारमा हतार गरेर खेताला लगाएर माला उन्नु पर्ने बाध्यतासमेत रहृयो ।

उनले एक रोपनी जग्गामा फूल खेती गरेकी छिन् । उनले गत वर्ष नौ आना जग्गामा फूल खेती लगाएर रु ४८ हजार कमाई गरेकी थिइन् भने यस वर्ष रु एक लाखभन्दा बढी आम्दामी भएको बताइन् ।

गत वर्ष घरबाटै रु १२ मा बिक्री गरेको माला यस वर्ष कम्तीमा रु १५ देखि २० मा बिक्री भएको किसान पवित्रा बस्नेतले बताइन् । उनले यही मूल्यमा एक हजार १०० माला पोखराका व्यवसायीलाई बिक्री गरिन् भने स्थानीय व्यापारीलाई समेत माला बेच्न भ्याइन् ।

एक रोपनी जग्गामा फूलखेती गरेकी उनले चार महिनाको अवधिमा एक हजार ८०० माला तयार पारेकी थिइन् । गुन्डुमा पाँच वर्षदेखि व्यावसायिक फूलखेती सुरु भएको सरिता बस्नेतले बताइन् । माला खोज्न व्यापारीहरू गाउँ पसेपछि पर्म लगाएर भए पनि माला उन्ने गरेको उनले बताइन् ।

पार्वती नगरकोटीले पनि एक रोपनी जग्गामा लगाएको मखमलीको एक हजार ६०० माला उनेर बेचेकी छिन् । यहाँका एक परिवारले एक तिहारमा न्यूनतम् पनि रु ४० हजार कमाई गर्छन् भने बढीमा रु डेढ लाखसम्मको माला बेच्ने गरेको उनीहरू बताउँछन् ।

0 comments:

Post a Comment