Wednesday, January 26, 2011

सञ्चिता लुत्रुक्क नेपालतिरै


काठमाडौं, माघ १२ । यतिबेला निकै तनावमा छिन् नायिका सञ्चिता लुइँटेल। नाम, दाम, सम्मान अनि सबैको वाहवाहीलाई त्यागेर निखिल उपे्रतीसँगै जीवन बिताउने दृढ योजनाका साथ मुम्बईतिर लागेकी सञ्चिता साँच्चै आजको समयमा आएर भने दोधारमा परेकी छिन्। मायाले मात्र केही हुँदैन रहेछ भन्ने कुरा अहिले मात्र आएर बुझेकी सञ्चिता दुई हप्ताअगाडि मात्र सुटुक्क नेपाल आएकी छिन्। आफ्नो परिवारलाई मात्र भेट्न नेपाल आएको बताउने सञ्चिता अब मुम्बई नफर्कन पनि सक्ने कुराको रहस्य खुल्न थालेको छ। जसका लागि भनेर उनी सबै त्यागेर मुम्बईतिर लागेकी थिइन् अन्ततः उसैले नै धोका दिने आशङ्कामा छिन् सञ्चिता। जानकारीमा आएअनुसार सञ्चिता नेपाल आएको मौका पारेर उता निखिल उपे्रतीले नेपाल रहेकी आफ्नी पहिलो पत्नी कोपिला उप्रेतीलाई मुम्बई बोलाएका थिए भने आफू मुम्बईमा एक्लै बसेको जानकारी दिएका थिए। उता कोपिला पनि केही दिन मुम्बईमा आफ्नो श्रीमान् निखिलसँग घुमेर नेपाल फर्किएकी छिन्।
यसैबीच निखिल उपे्रती गत सोमबारनेपाल आएका छन्। उनको नेपाल आगमन हिन्दी फिल्म निर्माताहरुलाई नेपालमा लोकेशन देखाउनका लागि भनिएको छ तर यथार्थ भने बेग्लै रहेको बुझिएको छ। पहिली पत्नीसँग निखिलको घरजम फेरि जोडिने कुराले यतिबेला चलचित्र बजार तातेको छ। नेपाली चलचित्र उद्योगको मान र दाम छोडेर जानुपर्दा वा गुम्दा दुवैको मन पोलेको रहेछ भन्ने वास्तविकता यतिबेला खुलेको छ। नेपाली सिनेमाले के दियो र? भन्दै सिनेमा र दर्शकलाई गाली गर्ने निखिल अनि मान्छे सानी भए तापनि ठूला कुरा गर्दै हिँड्ने सञ्चिता अन्ततः आफ्नै वास्तविकतामा झरेको दिन हेर्न अब धेरै दिन लाग्ने छैन। दुवैलाई नेपाल फर्कने एउटा वहाना चाहिएको थियो र त्यो पनि यतिबेला पूरा भएको छ।
वर्षाैंसम्म निखिलसँग बसेर फेरि नेपाली सिनेमामा काम गर्नुपर्दा सञ्चिताको त्यो व्यवहारलाई सिनेकर्मीहरूले कसरी लेलान् अनि निखिलको सिन्दुर साँच्चै आफ्नो सिउँदोमा हालेको बनाउने सञ्चिताको कुन कुराको विश्वास गर्छन् अब उनका समकक्षी र चलचित्रकर्मीहरूले। एक श्रीमान् छाडेर दोस्रोसँग जीवन बिताउने प्रण गरेकी सञ्चिताको यो सोच पनि पूरा नहुने देखिन्छ भने अब उनी कुन खेल खेल्छिन् त? प्रतीक्षाको विषय बनेको छ। अब सञ्चिता मुम्बईमा टिक्न नसक्ने अवस्थामा पुगेको कुरा यतिबेला स्पष्ट भइसकेको छ। महिनामा तीनवटा फिल्म खेल्दा लगभग डेढ लाख पारिश्रमिक पाउने सञ्चिताले धेरैमा बीस हजार महिनाको तलबमा भारतमा एक महिना बुटिकमा पनि काम गरिन्। नेपालकी सेलिबे्रटीको यो दुर्दशा हेर्न नसकेका अन्य कलाकारहरूले सञ्चितालाई फेरि नेपाल फर्कन सुझाव पनि दिएका थिए। 'उता टिक्न नसकेको र लगेको पैसाजति सबै सकिएपछि लुत्रुक्क परेर नेपाल नफर्किएर कता जाने त?' मुम्बईमा सञ्चिताको बेहाल हेरेर फर्किएका एक चलचित्रर्मीको धारणा थियो यो।

0 comments:

Post a Comment