Tuesday, May 8, 2012

बिहेकै दिन बच्चा जन्मियो !!!

बिहेअघिको सेक्स अनैतिक र अवैध मानिने हाम्रो समाजमा बिहे भएको ९ महिना भन्दा अघि नै बच्चा जन्मियो भनेपनि मान्छेले विभिन्न कुरा काट्छन् । त्यसैले बिहेकै दिन कुनै महिलाले बच्चा पाउने कुरा कल्पना पनि गर्न सकिन्न । तर बेलायतमा भने एक किशोरीले बिहेकै दिन बच्चा जन्माएकी छिन् । बिहे गरेको केही घण्टापछि नै छोरो जन्माएकी ती किशोरी सोही बेलुकी आफ्नो बिहेको पार्टीमा आफ्नो नवजात छोरालाई सँगै लिएर सहभागि भइन् ।
२५ वर्षका आरोन र १९ वर्षकी ड्यानिल क्लिउलोको जोडीले बिहेकै दिन छोरो जन्माएर सबैलाई अचम्ममा पारे । आफ्नो गर्भ ३८ हप्ताको पुगिसकेकोले उनको पेट निकै ठूलो भएको थियो । ठूलो पेट आगन्तुकले देख्लान् र खिसी गर्लान् भनेर उनी बिहे समारोहमा ह्वाङ्लाङ्गको गाउन लगाएकी थिइन् । अझ बिहेको दिन बिहानैदेखि पेट दुखेकाले क्लिउलो पीडा सहँदै बिवाह समारोहमा गएकी थिइन् । विवाह सकिएलगत्तै उनको पेट सहनै नसक्ने गरेर दुख्नथाल्यो । पेटको बच्चा ३८ हप्ताको पुगिसकेकाले बच्चा जन्मिनकै लागि पेट दुखेको होला भनेर उनलाई बेहुला आरोनले अस्पताल दौडाइहाले । अस्पतालमा पूराएको आधा घण्टामै उनले सामान्य प्रक्रियाबाट छोरा जन्माइन् । उनको स्वास्थ्य अवस्था राम्रो भएकाले केही घण्टामै डाक्टरहरुले उनलाई डिस्चार्ज गरे ।
यता बेहुलाबेहुली अस्पताल कुँदेपनि उनीहरुको बिहेको पार्टी भने रोकिने कुरै भएन । त्यसैले हँसिमजाक गर्दै बिहेको प्रीतिभोज चलिरहेको थियो । अस्पताल गएका बेहुलाबेहुली प्रीतिभोजमा आउन सक्लान् भनेर कसैले पनि आश गरेको थिएन । तर एक्कासी बेहुला आरोन नवबेहुली र नवजात छोराको साथमा टुप्लुक्क भोजमा आइपुगेपछि सबैजना छक्क परे । बिहे र बच्चा एकैदिन भएकोमा त्यो जोडीलाई शुभकामनाको ओइरो नै लाग्यो । के गर्नु ? हाम्रो नेपालमा यस्तै घटना घटेको भए त्यस्ता जोडीलाई समाजबाटै बहिस्कार गर्न बेर लाग्दैनथ्यो ।

0 comments:

Post a Comment