Thursday, December 15, 2016

मंगल ग्रहमा ‘अनौठा तीन टावर


पृथ्वीबाट सबैभन्दा नजिक रहेको मंगल ग्रहमा एक विशाल र अनौठो बनावट देखिएको छ । ‘इन्टेमुन्डो डेस्कोनोसिडो’ शीर्षकमा युट्युबमा हालै पोस्ट गरिएको मंगल ग्रहको पछिल्लो तस्बिरमा तीनवटा निकै अग्ला टावर देखिन्छन् । झट्ट हेर्दा ती तीनवटै टावर विशाल भौतिक संरचनाजस्ता देखिन्छन् । एउटा टावरको उचाइ चार हजार आठ सय मिटर रहेको अनुमान गरिएको छ । तीनवटै टावर सीधा रेखामा देखिन्छन्, मानौँ तिनीहरूलाई कुनै सिपालु कालिगढले धेरै वर्ष लगाएर निर्माण गरेका हुन् । एकजना अज्ञात व्यक्तिले ती तस्बिर पोस्ट गरेका हुन् । ‘थ्रिडी’ भिजन र विभिन्न कोणबाट खिचिएका तस्बिरहरू पोस्ट गर्ने ती व्यक्तिको परिचय भने खुलाइएको छैन । यसअघि मंगल ग्रहको तस्बिर खिच्दै प्रसारण गर्ने संस्थाहरू मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्बिरभन्दा पछिल्लोपटक सार्वजनिक भएका तस्बिर प्रस्ट देखिन्छन् । पृथ्वीबाहेकका अन्य ग्रहमा पनि अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्तालाई ती तस्बिरले निकै खुल्दुली मच्चाएको छ । ‘टावरको संरचना तथा सीधा रेखामा निर्मित बनावट हेर्दा यो एक संयोग मात्र नभएर मंगल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रविधि छ भन्न कर लाग्छ,’ तस्बिर पोस्ट गर्ने अज्ञात व्यक्तिले लेखेका छन् । मंगल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीनवटा टावर बन्न असम्भव रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था नासाका वैज्ञानिकहरूले तस्बिर कुनै नयाँ नभएको बताएका छन् । नजिकै गएर प्रत्यक्ष हेर्दा टावरहरू तस्बिरमा देखिएजत्तिकै अग्ला नहुने उनीहरूको भनाइ छ ।

0 comments:

Post a Comment