Wednesday, December 28, 2016

चटपटेवाला बने हिरो आलोम


"आलोमसँग सेल्फी फोटोका लागि बंगाली टिम क्रिकेटरसमेत लालायित भएको तस्बिर बाहिरिएपछि चर्चा चुलिँदै गएको हो ।" भारतमा चियावाला र नेपालमा तरकारीवालीले सोसल मिडिया हुँदै संसारभर तहल्का मच्चाए । उनीहरूले पाएको चर्चाकै भरमा फिल्म खेल्ने अफर पनि आए । तर यतिबेला बंगलादेशका एक हिरो भने ‘सुपरस्टार’ भइसकेपछि सोसल मिडियामा छाएका छन् । असरफुल अलोम सइद नाम गरेका युवक यतिबेला हिरो आलोम नामले भाइरल बनेका छन् । कतिपय मिडियाले त उनलाई सिधै भारतका रजनीकान्तसँग समेत दाँजेर बंगलादेशी रजनीकान्त भनेका छन् । हिरो आलोमले पाँच सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका छन् । सन् २००१ देखि ग्ल्यामर दुनियाँमा करिअर सुरु गरेका उनी हिरोको प्रचलित मान्यताअनुसार न गुड लुकिङ छन्, न त मसलबन्द बडी नै । कालो वर्णका यी हिरोका दाँत केही बाहिर निस्केका छन् भने ज्यान मरनच्याँसे प्रकृतिको छ । उनको देख्नमा एउटै राम्रो भनेको कपाल सर्लक्क परेको छ । बंगलादेशमा ठूलो फ्यान फलोइङ कमाइसकेका हिरो आलोमसँग सेल्फी फोटोका लागि बंगाली टिम क्रिकेटरसमेत लालायित भएको तस्बिर बाहिरिएपछि चर्चा चुलिँदै गएको हो । हिरो आलोमलाई भाइरल बनाउने काम भने भारतीय सोसल साइट प्रयोगकर्ताले गरिदिएका हुन् । सिक्स र एट प्याक हिरोमा विश्वास गर्ने बलिउड र भारतका लागि उनको सानो जीउडाल र कालो वर्णको हिरो छवि अनौठो लाग्नु स्वाभाविक नै हो । हिरो आलोमलाई खिसिटिउरी गर्ने लहर यतिबेला नेपालसम्मै छाएको छ । तर ती सबै व्यंग्य र कटाक्षलाई उनको लगातारको मिहिनेत र लगनशीलताले खण्डन गरिदिन्छ । कुनै बेला हिरो आलोम सडक छाप थिए । उनी दस वर्षको छँदा बाबुले आमासहित उनलाई घरबाट निकालिदिए । सडकमा आएका आलोमले त्यसपछि बाबुकै धन्दा चनाचटपटे बेच्ने काम थाले । पढाइ त उनको त्यसपछि ब्रेक लागि नै हाल्यो । तर आशा र हिम्मत भने उनले रोकेनन् । दिनभरि चनाचटपटे बेचेपछि आलोम साँझ एक भिडियो पार्लरमा आएर बस्थे । पछि उक्त पार्लर आलोमले किने । दिनमा चटपटे बेच्ने आलोम साँझ फिल्म र गीतका डीभीडी बेच्थे । एक दिन अब्दुर रज्जाक नाम गरेका एक व्यक्तिले उनलाई केबल टीभीमा कामका लागि अफर गरे । सीडी र डीभीडीका चक्का बेच्दाबेच्दै आलोमलाई भित्री मनमा हिरो बन्ने इच्छा पलाइसकेको थियो । केबल टीभीमा काम गर्ने भएपछि यसले मूर्त रूप लिई नै हाल्यो । सन् २००८ मा हिरो आलोमले पहिलो म्युजिक भिडियोमा मोडलिङ गरे । उक्त भिडियोलाई उनले आफ्नै केबल टीभीबाट रिलिज गरे । दर्शकले भिडियो खुबै रुचाए । त्यसपछि आलमबाट उनी हिरो आलोमको बाटो खन्दै अघि बढे । ‘पहिले केटीहरू मसँग काम गर्न हिचकिचाउँथे’ हिरो आलोमलाई आफू हिरो जस्तो लुक्स नभएकै कारण युवतीहरू स्क्रिन जोडी बन्न नचाहेको थाहा थियो । तर आलोमले यसमा लज्जाबोध गरेनन् । बरु आफ्नो उद्देश्यमा अडिग रहे र अघि बढ्दै गए । अहिले युट्युबमा उनका म्युजिक भिडियो लाखौंले हेर्न थालेका छन् । युट्युब हिट भएपछि भने हिरो आलोमलाई अहिले फिल्म र सिरियलबाट पनि अफर आउन थालेको छ । यतिबेला उनले हिरो हुनुको पुरानो मान्यतालाई समेत तोड्न सफल भएका छन् । आलोमलाई यतिबेला गरिब निम्न वर्गका दर्शकले आफ्नो हिरो मान्न थालेका छन् भने उनी केही गर्न चाहनेका लागि प्रेरक पनि बनेका छन् ।

0 comments:

Post a Comment