Tuesday, March 22, 2011

वार्षिक १४ हजार नेपाली जुवा खेल्न सिंगापुर


सरकारले नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कडाइ गरिरहेकै बेला सिंगापुरस्थित मेरिना बे स्यान्ड्स क्यासिनोमा गत वर्ष १४ हजारभन्दा बढी नेपालीले जुवा खेलेको खुलासा भएको छ । नेपाली क्यासिनो कार्यविधि तयार गर्ने सिलसिलामा अध्ययनका लागि सिंगापुर पुगेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहसचिवस्तरीय टोलीले यो जानकारी दिएको छ ।
सन् २०१० मा मात्रै यो क्यासिनोमा १४ हजार ३ सय ३ नेपाली प्रवेश गरेको तथ्यांक क्यासिनोे व्यवस्थापनले आधिकारिक रूपमा नेपाली टोलीलाई दिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मण भट्टराईले सिंगापुर, मलेसिया, गोवा र सिक्किमलगायत स्थानका क्यासिनोमा नेपाली बढी जुवा खेल्न जाने गरेको बताए ।भट्टराईकै नेतृत्वमा तीन सदस्यीय टोली हालै सिंगापुरका केही क्यासिनोको अध्ययन गरेर फर्किएको छ । “सिंगापुरको एउटै क्यासिनोमा यतिका संख्यामा नेपालीहरू जुवा खेल्न जानु अचम्मलाग्दो छ, कतिपय नेपालीहरू कति सम्पन्न छन् भन्ने कुरा पनि यसैबाट स्पष्ट हुन्छ,” उनले भने ।गत वर्षको जनवरीमा १ हजार ६ सय १९ नेपाली मेरिना क्यासिनोमा पुगेको तथ्यांक छ । फेब्रुअरीदेखि डिसेम्बरसम्मका प्रत्येक महिनामा १ हजारभन्दा बढी नेपाली त्यहाँ पुगेका छन् । सहसचिव भट्टराईका अनुसार अघिल्लो वर्ष (सन् २००९) मा यो क्यासिनो पुग्ने नेपालीको संख्या १५ हजारभन्दा बढी थियो । मेरिना बे स्यान्ड्स सिंगापुरको प्रसिद्ध होटलमध्येको एक हो । साततारे उक्त होटलको क्यासिनो १५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रवक्ता भट्टराईका अनुसार त्यहाँका क्यासिनोमा स्वदेशी तथा विदेशी दुवैखाले पर्यटकलाई जुवा खेल्न अनुमति छ । स्वदेशी तथा विदेशी पर्यटकका लागि क्यासिनो प्रवेशद्वार तथा खेल्ने क्षे समेत फरक–फरक हुने गरेको जानकारी उनले दिए ।

स्वदेशीलाई पनि मापदण्ड बनाएर क्यासिनो प्रवेशको अनुमति दिने तयारीमा रहेको पर्यटन मन्त्रालय यो अध्ययनबाट उत्साहित छ । “क्यासिनो तारे होटलको विशेषता तथा सुविधा भएकाले निश्चित दायरा बनाई स्वदेशी तथा विदेशीलाई जुवा खेल्ने व्यवस्था हुनुपर्छ, यसो नभए मुलुकको अर्बौं रकम बिदेसिन्छ,” भट्टराईले टिप्पणी गरे ।

क्यासिनो धाउनेहरू प्रायः उच्च आर्थिकस्तर भएका मानिस हुने भएकाले प्रवेश शुल्क बढाएर कडाइ गरिए रोयल्टी बढी उठ्ने उनको ठहर छ । नेपालसँग सीमा जोडिएको सिक्किममा जुवा खेल्न जाने नेपालीको ठूलै जमात रहेको जानकारी पनि दिए ।

नजिक हवाई दूरीमा रहेका, बैंकक, गोवा, मलेसियालगायतका सहर नेपालीले बढी धाउने क्षेत्रमा पर्छन् । मेरिना बे स्यान्ड्स क्यासिनो प्रवेश पासका लागि मात्रै १ हजार डलर प्रवेश शुल्क तिर्नुपर्छ । नेपाली क्यासिनो प्रवेशका लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने प्रस्तावित गरिएको छ ।

सन् २००५ मा स्थापना भएको सिंगापुरको यो क्यासिनोका सबैभन्दा बढी ग्राहक एसियाका छन् । २०१० भित्र एसियाबाट ८६ लाख, अमेरिकाका ५ लाख, युरोपबाट १३ लाख र अफ्रिकाका ७५ हजारभन्दा बढी पर्यटकले यो क्यासिनो प्रवेश गरेको तथ्यांक छ ।

0 comments:

Post a Comment