Monday, December 20, 2010

बलिउडमा सिगरेट बाइबाई


भारतीय चलचित्र उद्योगमा चुरोट पिउने कलाकारको कुनै कमी छैन । ‘चेन स्मोकर’देखि एक दुई खिल्ली चुरोट पिउनेहरू यहाँ प्रशस्त भेटिन्छन् । अजय देवगनदेखि शाहरूख खान र सलमान खानदेखि संजय दत्त सबैमा धूपमानको लत छ । तर पछिल्लो समयमा केही कलाकारले आफ्नो लतमा व्यापक सुधार गरेका छन् ।स्वास्थ्य बिर्गने डरले अभिनेता ऋतिक रोशनले चुरोट नै पिउन छोडिदिए । दुई वर्षअघिदेखि चुरोट पिउन थालेका ऋतिकले सहकर्मी अजुर्न रामपाललाई पनि चुरोटको लतबाट छुटाउन सहयोग गरेका छन् । उनले चलचित्र गुजारिसको निर्माण ताका निकै चुरोट पिउँथे । कथाअनुसार चलचित्रमा उनले निकै चुरोट पिउनुपर्ने थियो । अचम्मको कुरा त के भने यतिबेला यदि कसैले उनलाई चुरोट पिउन आग्रह गर्छ भने उनले त्यो चुरोट हातमा लिन्छन् र भाँचिदिन्छन् ।सन् २०१० को सुरुवातसँगै अर्का नायक अमिर खानले चुरोट पिउन छोडेका थिए । अभिनेता संजय दत्तले चुरोटको लत त छोडेका छैनन् तर बानीमा भने निकै सुधार ल्याएका छन् । जुम्ल्याहा सन्तानका पिता भएपछि दैनिक दुई पाकेट चुरोट पिउने संजयले यतिबेला दुईवटा मात्र चुरोट पिउँछन् । अभिनेत्री कोनकोना सेन शर्माले पनि चुरोट पिउन छोडेकी छन् ।भरखरै बिहे गरेकी उनी दुई महिनाकी गर्भवती छन् । अर्की नायिका उर्मिला मातोडेकर त धूममानविरुद्धको अभियानमा नै लागेकी छन् । चेन स्मोकरको रूपमा परिचित अभिनेता अजय देवगणले गोलमाल-३ को छायाङ्कनका क्रममा एक गाउँमा चुरोट पिउँदा एक सय रुपियाँ जरिवाना नै तिर्नुपरेको थियो । एक गैर सरकारी संस्थाले उनले चुरोट पिउँदै गरेको तस्बिर लिएर स्वास्थ्य केन्द्रमा उजुरी गरेकेा थियो ।चलचित्र लन्डन डि्रम्सको छायाङ्कनका क्रममा पनि अजयले अर्का नायक सलमान खानसँगै जरिवाना तिर्नुपरेको थियो । छायाङ्कन चण्डिगढमा भएको थियो । सार्वजनिक स्थानमा चुरोट पिएबापत शाहरूख खानले पनि चेतावनी पाइसकेका छन् । आईपीएल खेलको समयमा उनले चुरोट पिएका थिए ।सन् १९७० को दशकमा बलिउडका अभिनेताहरूले ५५५ ब्रान्डको चुरोट अत्यधिक मात्रामा प्रयोग गर्थे । विज्ञहरूले कलाकारले चुरोट छोडे देशकै स्वास्थ्यमा फाइदा पुग्ने दाबी गरेका छन् । चलचित्रमा कलाकारले चुरोट पिएको देखासिकी गर्दै चुरोट पिउनको सङ्ख्या करोडौँ छ ।

0 comments:

Post a Comment